इटहरी/ सुनसरीको दुहबी आसपास धेरै उद्योग सञ्चालनमा छन् । सुनसरी– मोरङ औद्योगिक करिडोरभित्र पर्ने ती उद्योगले स्थानीयको स्वास्थ्यमाथि खेलबाड गरी नाफा कमाउने गरेको आरोप लाग्ने गरेको छ । ती उद्योगले गर्ने प्रदूषणको बारेमा स्थानीयले आवाज उठाए पनि नगरपालिका वा प्रहरी लगायतका जिम्मेवार निकाय उद्योगीसँग मिल्नाले समस्या जस्ताको तस्तै रहने गरेको स्थानीयले आरोप लगाउने गरेका छन् ।
हालै मात्र सुनसरीको दुहबी नगरपालिकाको वडा नम्बर ३ र ८ का बासिन्दाले दुहबी– ३ मा रहेको प्रिमियर अर्गानिक प्रालिले प्रदूषण फैलाएको भन्दै दुहबी नगरपालिकामा निवेदन दिएका छन् ।
यसैगरी, दुहबी– ८ मा रहेको श्री बिपी आधारभूत विद्यालयले पनि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि सो उद्योगको प्रदूषणले प्रत्यक्ष रूपमा असर गरेको भन्दै नगरपालिकामा निवेदन दिएको छ । सो उद्योगले स्थानीयलाई ठूलो समस्या भएको भन्दै ५० जनाभन्दा बढीको हस्ताक्षरसहितको निवेदन नगरपालिकामा बुझाएको बताइएको छ ।
बारम्बार यसअघि पनि यस विषयमा खबरदारी गर्दा कसैले वास्ता नगरेको स्थानीयको भनाइ छ । २ महिना अगाडि पनि प्रदूषणको विषयलाई लिएर सो उद्योग घेराउ गर्नुपरेको स्थानीय बताउँछन् ।
त्यसपछि प्रदूषण नियन्त्रण गर्ने भनेर उद्योगले प्रतिबद्धता जनाए पनि प्रतिबद्धता कार्यान्वयन नभएकाले नगरपालिकाको ध्यानाकर्षण गराइएको स्थानीयको भनाइ छ । यसअघि दुहबी– ३ को परफेक्ट फुड प्रोडक्टले गरेको प्रदूषणको विषयमा स्थानीयले नगरपालिकालाई जानकारी गराएका थिए । व्यवस्थित ढंगबाट प्रदूषण नियन्त्रण गर्न लाखाँै खर्च गर्नुपर्ने हुनाले उद्योगीहरूले आनाकानी गर्ने गरेको स्थानीय बताउँछन् ।
सिमेन्ट, छाला, स्टिललगायतका उद्योगले दुहबीवासीलाई समस्या थपेको छ । केही उद्योगपतिको सीमित स्वार्थका लागि जनताको स्वास्थ्य, मुलुकको कानुन र सामाजिक दायित्व ध्वंस हुने क्रियाकलाप गर्ने छुट दिन नहुने स्थानीय रामआशिष साहले बताए ।
अन्य उद्योगविरुद्ध पनि परेको थियो उजुरी
यसैबीच, नगरपालिकाले ०७४ साल माघ १७ गते विभिन्न उद्योगको नाममा पत्र काटी ७ दिनभित्र नगरपालिकामा उपस्थित भई उद्योगले गरेको प्रदूषणको बारेमा लिखित जवाफ दिन सूचना जारी गरे पनि उद्योगीले खासै ध्यान नदिएको स्थानीय बताउँछन् । दुहबी २ का इन्द्रकुमार श्रेष्ठले दिएको निवेदनपछि नगरपालिकाले दुहबीको वडा नम्बर २ का चिउरा भुजा उद्योग, एसटी कार्पेट प्रालि र मैनावती स्टिलसँग लिखित जवाफ मागेको थियो ।
नगरपालिकाले लिखित जवाफ मागे पनि ती उद्योगले त्यसलाई बेवास्ता गरेको उजुरीकर्ता इन्द्रकुमार श्रेष्ठ बताउँछन् । ठूला उद्योग भएका हुनाले स्थानीयको गुनासो सुन्न त्यस्ता उद्योगले नचाहेको निवेदक श्रेष्ठ बताउँछन् । ‘अर्काको स्वास्थ्यमाथि खेलबाड गर्न त पाइँदैन नि’, श्रेष्ठ भन्छन्, ‘उनीहरूले फ्याक्ट्री खोलून्, व्यवसाय गरून् तर स्थानीयको स्वास्थ्यमाथि खेलबाड गर्न पाउँदैनन् ।’
आफूले नगरपालिकामा निवेदन दिएपछि चिउरा भुजा उद्योग र कार्पेट उद्योगका प्रतिनिधिले आफूलाई भेटेर प्रदूषण नगराउने मौखिक जानकारी गराए पनि त्यसको पालना भने नभएको उनले बताए । नगरपालिकाका जिम्मेवार व्यक्ति नै उद्योगीसँग मिल्ने हुनाले समस्या समाधानमा उद्योगीले हेलचेक्र्याइँ गर्ने गरेको उनले बताए ।