धरानः चित्रकलामा विद्यार्थीको आकर्षण बढाउन धरान प्रज्ञा प्रतिष्ठानले ४ दिने चित्रकला कार्यशालासहित मेला आयोजना गर्ने भएको छ ।
धरानका ७५ ओटा संस्थागत तथा सामुदायिक विद्यालय र ४ ओटा प्लस टुका विद्यार्थी गरी १ सय ५८ जना विद्यार्थीलाई कार्यशालामा सहभागी गराइने भएको हो । असोज ३ गतेदेखि शुरु हुने २ दिने कार्यशालामा सहभागी गराएर दुई दिन प्रदर्शनी मेलाको आयोजना गरिने भएको छ ।
प्रत्येक विद्यालय र कलेजबाट दुई जनाका दरले विद्यार्थी सहभागी गराउने तयारी भएको धरान प्रज्ञा प्रतिष्ठानका सदस्य तथा कार्यक्रम संयोजक गोपाल देवानले जानकारी दिए ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरी चित्रकला कार्यशाला धरान–८ स्थित सभागृहमा हुने र प्रदर्शनी मेला धरान १२ स्थित अमान बजारमा हुने जानकारी दिइएको छ ।
कार्यशालामा प्रदेश १ का अग्रज चित्रकारहरूलाई सहभागी गराएर प्रशिक्षार्थीहरूलाई वाटर कलरमा प्रशिक्षण गराइने भएको छ । वाटर कलरको सैद्धान्तिक र व्यावहारिक ज्ञान दुई दिनको अवधिमा प्रदान गर्दै उनीहरूले बनाएका आकृतिलाई दुई दिन प्रदर्शनीमा राखिने भएको हो । जसमध्ये ५ जना उत्कृष्ट प्रशिक्षार्थीलाई ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकमले पुरस्कृत गरिने बताइएको छ ।