इटहरीः इटहरीमा बिजुलीका पोलपोलमा डोको राखिएको छ । संविधान दिवसको अवसरमा आयोजित सरसफाइ कार्यक्रमका क्रममा बिजुलीका पोलमा डोको राखिएको हो । नसड्ने फोहोर हाल्नका लागि डोको राखिएको हो ।

पर्यटकको सहजताका लागि इटहरी चौक आसपास, खनार, पकलीका पोलमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले बताए । उनका अनुसार तरहरमा पनि यस्तै डोको राखिने छ ।

इटहरीमा संविधान दिवस ४ दिनसम्म मनाउने कार्यक्रमअनुसार बुधबार पोलहरूमा डोको राखिएको हो । बिहीबार बिहान ८ बजे पाथीभरा फुटसल काव्यवाटिका इटहरीमा इटहरी उपमहानगर र पत्रकार तथा उद्योग वाणिज्य सङ्घ र नागरिक समाजबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

बिहीबार बिहान ११ बजेदेखि जनसहयोग क्याम्पस तरहरामा ‘संविधान कार्यान्वयनमा युवाको भूमिका’ विषयक अन्तरक्याम्पस वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

त्यस्तै, शारदा मावि खनारमा नेपालको संविधान र अवसरहरू विषयक उच्च मावि स्तरीय निबन्ध प्रतियोगिता हुने भएको छ । बिहीबार नै बेलुकी ४ बजे पकलीस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई फलफूल वितरण, इटहरी–२ स्थित मायाघरका सुत्केरीलाई पोषणयुक्त खाद्यान्न र कपडा वितरण तथा निसहाय बाल आश्रममा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

असोज ३ गते बिहान रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । इटहरी उपमहानगर परिसरमा हुने रक्तदान कार्यक्रममा सहभागी हुन उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।