धरानः असोज ४ गतेदेखि धरानमा हुने इष्ट टुरिजम मार्टको अन्तिम तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर प्रदेश नम्बर १ को पर्यटन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन तथा बजारीकरण गर्नका लागि आयोजना गरिएको दोस्रो संस्करणको ‘इष्ट टुरिजम मार्ट २०१९’ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

धरानको सिद्धि नेवा परिषदको परिसरमा असोज ४ गते देखि ६ गते सम्म सञ्चालन हुने मार्टमा प्रदेश नम्बर १ का १४ ओटै जिल्लाका पर्यटन व्यवसायीका करीब ६० ओटा व्यावसायिक स्टल रहनेछन् भने नेपालका अन्य प्रदेशका तर्फबाट पर्यटन व्यवसायीका करीब ३० ओटा व्यावसायिक स्टल रहनेछन् ।

कार्यक्रममा व्यावसायिक सहभागिता जनाउन भारतका नयाँदिल्ली, पटना, कोलकत्ता, सिलीगुडी, आसाम, दार्जिलिङ, सिक्किम तथा जयगाउँबाट पर्यटन व्यवसायीको सहभागिता रहने छ भने तेस्रो मुलुक भुटान र बङ्गलादेशबाट पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहने कार्यक्रमका अध्यक्ष भविषकुमार श्रेष्ठले बताए । मार्टमा कुल १ सय २० जना विदेशी पर्यटन व्यवसायीको सहभागिता रहने भएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना, धरान उपमहानगरपालिकाको सह आयोजना र प्रदेश सरकारको सहयोगमा आयोजना हुने मार्टको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने तयारी भएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईको उपस्थितिमा सिक्किमका पर्यटन व्यवसायी र पूर्वी नेपालका पर्यटन व्यवसायीबीचमा व्यावसायिक पर्यटन साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

मार्टको अवसरमा आगन्तुक पर्यटकलाई धरान आसपासका पर्यटकीय स्थलको अवलोकन भ्रमण, नेपालका पर्यटन व्यवसायीसँग विदेशी पर्यटन व्यवसायीले गर्ने बीटुबी (बिजनेस टु बिजनेस) मिटिङ, अपराह्न्नमा विदेशी पर्यटन व्यवसायीले इटहरी र विराटनगरका पर्यटन व्यवसायीसँग प्रोपर्टी भिजिट लगायतका कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।

मार्ट अवधिभर धरानमा हुने साहसिक खेल प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लिङजस्ता अन्य खेल इच्छुकका लागि सञ्चालनमा रहने छन् । कार्यक्रमको समापनपछि विदेशी पर्यटकलाई ‘फेमट्रिप’ का लागि पर्यटकको इच्छाअनुसार वराहक्षेत्र, विष्णुपादुका, हलेसी, हिले, टीएमजे क्षेत्र, इलाम र सप्तरीको सखडा भगवतीको मन्दिर लगायतका क्षेत्रको भ्रमण गराइने भएको छ ।