काँकरभिट्टाः मेचीनगरको प्रमुख व्यापारिक केन्द्र धुलाबारीका अधिकांश व्यवसायीहरूलाई मेचीनगर नगरपालिकाले आफ्ना व्यावसायिक प्रमाणपत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

बिहीबार नगर उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको बजार अनुगमन टोलीले अनुगमका क्रममा धेरै व्यवसायीले आफ्ना प्रमाणपत्र चुस्त दुस्त नराखेको फेला पारेपछि पहिलो पटक उनीहरूलाई सम्झाइबुझाइ सबै प्रमाणपत्र अद्यवधिक गर्न निर्देशन दिएको हो । ७ दिनभित्रमा सबै चुस्त राख्न उनीहरूलाई नगरपालिकाले भनेको छ ।

टोलीले धुलावारीका किराना, कस्मेटिक तथा कोल्ड स्टोरसहित १४ पसलको अनुगमन गरेको थियो । नगर उपप्रमुख उप्रेतीका अनुसार अधिकांश व्यवसायीहरूले मूल्यसूची अद्यावधिक नगरेको, व्यावसायिक प्रमाण पत्र समयमै नवीकरण नगरेको, आफ्ना पसलमा नापतौलका लागि राखिएका विद्युतीय कम्युटर काँटाहरू प्रयोग गर्न सम्बन्धित कार्यालयबाट इजाजत नलिएको, एउटा व्यवसाय दर्ता गरेर अन्य प्रकृतिको व्यवसाय सञ्चालन गरिरहेको अनुगमनका क्रममा टोलीले फेला पारेको थियो ।

अनुगमन टोलीमा संलग्न इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायब निरीक्षक नरेशप्रसाद आचार्यले खोटाङ कोल्ड सेन्टरमा राखिएको वारुदजन्य वस्तु जगमग नियन्त्रणमा लिएको बताए । कपडाको व्यवसाय तथा कस्मेटिक तथा अन्य शृङ्गार सामग्रीको कारोबारका लागि व्यवसाय गर्न इजाजत लिए पनि खाद्यान्नको कारोबार गरिरहेको पाइएपछि टोलीले उनीहरूलाई इजाजत अनुसारको व्यवसाय गर्न निर्देशन दिएको मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए ।

नेपाल सरकारले प्रतिबन्ध गरेका पेय पदार्थ, खाने तेल खुला नुनलगायतका वस्तु नेपाली बजारमा फेला परेपछि तत्काल टोलीले जफत गरेको थियो । नेपालमा प्रतिबन्धित ड्राइगन, दो फूललगायत नामै नसुनेका भारतीय आयल कम्पनीद्वारा उत्पादित तेल, उत्पादन तथा उपभोग्य मिति नभएका खाद्यवस्तु नष्ट गर्नका लागि नियन्त्रणमा लिएको टोलीमा संलग्न मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए ।

खाद्य वस्तुको उपभोग्य मिति, उत्पादन मिति, उत्पादकको विवरण लगायत अनिवार्य रूपमा लेबलमा हुनुपर्ने विवरण, मूल्यसूचीको अनुगमन गर्दै टोलीले खाद्यान्न र साबुन, सेम्पु जस्ता विभिन्न रसायन प्रयोग हुने गरेका अन्य वस्तु एकै स्थानमा नराखी अलग अलग ठाउँमा व्यवस्थापन गर्न, आधिकारिक दर्ताका विषयहरूमा व्यवसायीलाई टोलीले सजग गराएको थियो ।

म्याद गुज्रिएका, खान अयोग्य खाद्य वस्तुहरू, पेय पदार्थ जफत गरी नष्ट गर्ने प्रक्रियामा राखिएको सङ्घका सचिव रवि नेपालले बताए । त्यस्ता बिक्रेतालाई आइन्दा गल्ती नगर्न सचेत गराइएको छ । भारतीय बजार नजिकै रहेको र खुला सिमानाका कारण छिमेकी भारतीय बजारबाट ल्याएर फेण्टा, कोकाकोला, स्प्राइट, माजालगायतका पेयपदार्थ समेत बिक्री गर्ने गरेको स्थानीयको भनाइ छ । टोलीले अधिकांश व्यवसायीहरूलाई सजक गराउँदै सम्पूर्ण अखाद्यवस्तु फिर्ता गर्न सुझाव दिएको छ ।