धनकुटाः सरकारको एक सय गन्तव्य सूचीमा पर्न सफल छथर जोरपाटी गाउँपालिका–६ सिँधुवाबजार नजिकै रहेको हलहले (पटेक) डाँडामा धमाधम पूर्वाधार निर्माण हुन थालेका छन् ।
सङ्घ र प्रदेश स्तरको पर्यटन मन्त्रालयको करीब ८४ लाख र स्थानीयको लागत सहभागितासहित करीब ९० लाख रुपैयाँको लगानीमा हलहलेदेखि पटेकडाँडा करीब ३ सय मिटरको रेलिङसहितको पक्की सिँढी निर्माण गरिएको छथर जोरपाटी गाउँपालिकाका इञ्जिनियर दिवस पौडेलले बताए ।
पटेक डाँडा धनकुटाको सबैभन्दा बढी उचाइ भएको स्थान हो । पटेक डाँडाको उचाइ करीब २ हजार ६ सय ५० मिटर छ । यो डाँडाबाट बाह्रैमास मकालु हिमशृङ्खला र कुम्भकर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ । त्यस्तै, सूर्योदय र सूर्यास्तको दृश्यको लागि उपयुक्त ठाउँ रहेको स्थानीय दिवस खड्काले बताए । उनका अनुसार हाइकिङको लागिप नि पटेक डाँडा उपयुक्त रहेको छ । सिँधुवाका युवा हाइकिङमा समेत जाने गरेका छन् ।
पूर्वाधार अभाव र प्रचारप्रसार नहुँदा गुमनाम अवस्थामा थियो यो ठाउँ । सरकारको गन्तव्य सूचीमा सूचीकृत भएपछि यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन थालेको थियो । हलहले ((पटेक) डाँडालाई नमूना पर्यटकीय स्थल बनाउने उद्देश्यले पूर्वाधार निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । उनका अनुसार डाँडामा भ्यु टावर, ठाउँठाउँमा पिकनिक स्पट र बहुसांस्कृतिक मठमन्दिर निर्माण गरिने छ । यो क्षेत्रमा थप पूर्वाधार निर्माण गर्न डीपीआरसमेत निर्माण गरिएको र सोहीअनुरूप पूर्वाधार थपिँदै जाने उनले बताए ।