काँकरभिट्टाः हाल आधारभूत स्तरको खानेपानीको पहँुच ८८ प्रतिशत जनतामा मात्र पुगेको यसका विज्ञहरूले बताएका छन् । उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँच भने २० प्रतिशतमा पुगेको छ ।

आइतबार झापाको काँकरभिट्टामा सम्पन्न काँकरभिट्टा र चारआलीको मानव मलमूत्रीय फोहोर व्यवस्थापन सञ्चालनसम्बन्धी कार्यशालामा विज्ञहरूले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

मानव मलमूत्रीय फोहोर व्यवस्थापनसम्बन्धी संस्थागत तथा नियामक खाका, ट्रिटमेन्ट युनिट प्रशोधन केन्द्र, व्यावसायिक योजना र सञ्चालन निर्देशिकाको बारेमा सरोकारवालालाई जानकारी प्राप्त गर्न तथा त्रिपक्षीय सेवा सञ्चालन सम्झौताको बारेमा औपचारिक रूपमा छलफल भएर सहमति प्राप्त गरी सम्झौता सम्पन्न हुने तथा सम्झौताका शर्त कार्यान्वयन गर्ने उपयुक्त वातावरण निर्माण होस भन्ने उद्देश्यले कार्याशालाको आयोजना गरिएको बताइएको छ ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, साना शहरी खानेपानी तथा सरसफाइ आयोजना तथा शहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालयले आयोजना गरेको कार्यशालामा विभिन्न विषयका विज्ञहरूले आ आफ्नो क्षेत्रको प्रतिवेदन दिएका थिए । आयोजना निर्देशक विद्यानाथ भट्टराईले खानेपानी तथा सरसफाइ क्षेत्रको उपलब्धीका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

सरसफाइ क्षेत्रका बारेमा चर्चा गर्दै उनले आधारभूत स्तरको सरसफाइमा ९८ प्रतिशतको पहुँच पुगेको तथा ढल प्रणालीमा आबद्घ ३० प्रतिशत र सेफ्टी ट्याङ्की प्रयोग ४८ प्रतिशत रहेको उनले बताए । यो तथ्याङ्क खानेपानी तथा सरसफाइ क्षेत्रको लक्ष्य १५ औँ योजना २०७६÷७७ – २०८०÷८१ को अन्त्य सम्मको भएको उनले प्रष्ट पारे ।

उनले आधारभूत स्तरको खानेपानीको पहँुच ९९ प्रतिशतमा तथा उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँच ४० प्रतिशतमा रहेको बताए । आधारभूत स्तरको सरसफाइमा पहुँच शतप्रतिशत प्रशोधनसहितको ढल प्रणालीमा आबद्घ २० प्रतिशतमा पहँुच पुगेको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

निर्माण निरीक्षक विशेषज्ञ केशवराज विष्टले प्रशोधन प्रणालीको जानकारी तथा काँकरभिट्टा र चारआलीको एफएसएमका बारेमा प्रस्तुती दिएका थिए । उनले पोषण तत्व व्यवस्थापन, हानिकारक जीवाणुहरू घटाउने र पानीको मात्रा बढाउने प्रविधि प्रयोगको उद्देश्य रहेको बताए ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हर्कबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा आयोजनाका उपनिर्देशक नारायणप्रसाद आचार्य, खानेपानी तथा सरसफाइ सुशासन विज्ञ सञ्जय अधिकारी तथा व्यावसायिक योजनाविज्ञ डाक्टर मिङ्मा शेर्पा र हरिप्रसाद शर्माले विभिन्न विषयमा प्रस्तुती दिएका थिए ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भएको कार्यक्रममा मेचीनगर, बिर्तामोड नगरपालिकाका नगरप्रमुख, उपप्रमुख बुद्घशान्ति गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, काँकरभिट्टा चारआली खानेपानीका पदाधिकारीसहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यका बारेमा हरिप्रसाद शर्माले प्रकाश पारेका थिए भने उद्घाटन सत्रको सञ्चालन काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव राजकुमार पराजुलीले गरेका थिए ।