धनकुटाः किसानलाई सशक्तिकरण गरी आर्थिक स्थितिमा सुधार ल्याउने तथा सरसफाई प्रबद्र्धन गर्ने उद्देश्यसहित धनकुटा नगरमा क्लाइमेट स्मार्ट भिलेज परियोजना कार्यक्रम शुरु भएको छ ।
युएनडीपी र धनकुटा नगरपालिकाको संयुक्त साझेदारीमा सो कार्यक्रम शुरु भएको हो । परियोजनाको कार्यान्वयन गर्ने जिम्मेवारी पर्डेप नेपाल धनकुटाले पाएको छ । २ करोड ४३ लाख रुपैयाँ कुल लागत रहेको सो परियोजनामा युएनडीपीले १ करोड १३ लाख र नगरपालिकाले १ करोड ३० लाख रुपैयाँ बेहोर्ने भएका छन् ।
कार्यक्रमबाट नगरका १, २, ३ र १० नम्बर वडाका करीब ५ सय घरधुरी समेटिने भएका छन् । हरेक घरधुरीलाई सिँचाइ सुविधाको लागि प्लाष्टिक पोखरी, टनेल घरमा तरकारी खेती, सुधारिएको गोठ, अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन दिने लगायत कार्य गर्ने पर्डेप नेपालका कार्यक्रम संयोजक मीनप्रसाद सुवेदीले बताए ।
यता, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वातावरण स्वच्छ होस् भन्ने चाहनाबमोजिम कार्यक्रम शरु भएको बताए ।