धरानः आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ‘जाउँ है पोखरा’ अभियान टोली प्रचारात्मक छलफलका लागि धरान आइपुगेको छ ।
पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा सन् २०१२ देखि शुरु भएको ‘जाउँ है पोखरा’ अभियानले धरानमा भइरहेको इष्ट टुरिजम मार्टको अवसरमा पोखराको पर्यटनको बारेमा प्रचारात्मक छलफल गरेको हो ।
पछिल्लो समय विनाशकारी भूकम्पलगायत नाकाबन्दीका कारण विदेशी पर्यटकको आगमन पोखरामा कम हुन थालेपछि ‘जाऊँ है पोखरा’ अभियानले आन्तरिक पर्यटक प्रवद्र्धनका लागि प्रचारात्मक कार्यक्रम पुनः शुरु गरेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पोखरामा आन्तरिक पर्यटकलाई भित्र्याउन अभियान पुनः सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
अभियानले पोखरामा पर्यटकको आकर्षण बढाउँदै पूर्वका विभिन्न पर्यटकीय क्षेत्रको पनि पर्यटन प्रबद्र्धनमा सहयोगी भूमिका खेल्ने आयोजकको भनाइ छ । पोखरामा ५ तारे होटलदेखि पर्यटकीय स्तरका होटल, लज तथा रिसोर्ट रहेका छन् । १ खर्बभन्दा बढीको लगानीमा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई प्याकेजअनुसार २ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्मका टुर प्याकेज सञ्चालन गरेको जनाएको छ ।