धरानः चिकित्सा क्षेत्रको विकासका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य विज्ञान सम्मेलन हुने भएको छ ।
स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन चिकित्सकहरूले गरेका शोध तथा अनुसन्धानमथि छलफल तथा बहस हुने भएको छ । प्रतिष्ठानको २६ औं वार्षिक स्वास्थ्य विज्ञान सम्मेलन बुधबारदेखि ३ दिनसम्म चल्नेछ । सम्मेलनमा २ सय १० ओटा शोध तथा अनुसन्धान पत्रहरू प्रस्तुत गरिने मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । प्रतिष्ठानको बालरोग विभागले संयोजन तथा व्यवस्थापनको जिम्मेवारी पाएको छ ।
प्रतिष्ठानमा विभिन्न ३२ ओटा विभाग छन् । ती सबै विभागबाट शोध तथा अनुसन्धान पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक तथा विभागीय प्रमुख प्रा.डा. प्रकाश पौडेलले जानकारी दिए । प्रतिष्ठानको अडिटोरियम हलमा सम्मेलन हुने भएको हो ।
प्रतिष्ठान बिरामीको उपचार गर्ने अस्पताल मात्र नभएर दक्ष जनशक्ति उत्पादन गर्ने थलो पनि हो । प्रतिष्ठानका चिकित्सकहरूले वर्षभर गरेका शोध तथा अनुसन्धान पत्रहरू सम्मेलन गरी प्रस्तुत गर्ने गरिएको छ ।
डा. पौडेलका अनुसार सम्मेलनमा प्रतिष्ठानका सम्पूर्ण प्राध्यापक, शिक्षक, डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीले भाग लिनेछन् । सम्मेलनमा प्रस्तुत शोध तथा अनुसन्धानपत्रमध्ये उत्कृष्ट अनुसन्धान र शोधपत्रलाई पुरस्कृत पनि गरिने डा. पौडेलले बताए । अनुसन्धानले उपचार विधि, पद्धतिमा सुधार गर्नुपर्ने वा स्वास्थ्य नीतिमा पनि सुधार गर्नुपर्ने कुरा आउन सक्ने उनले बताए ।
विभागका एसिस्टेण्ड प्रोफेसर डा. शंकर यादवका अनुसार बीपी प्रतिष्ठानसँगै इटहरी, इलाम, जनकपुर लगायतका स्थानमा गएर गरिएको शोध तथा अनुसन्धानपत्र पनि प्रस्तुत हुनेछन् । प्रस्तुत भएका अनुसन्धानपत्रमाथि छलफल गरी निष्कर्ष पनि निकालिने उनले बताए ।