बेलबारीः बेलबारी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । मङ्गलबारदेखि बेलबारीमा बीमा दर्ता शुभारम्भ भएको हो । ३ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमा दर्ता फारम हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

मेयर सुवेदीले समेत शुरुमै स्वास्थ्य बीमा लेख फारम भरेका छन् । कार्यक्रमको शुभारम्भ गर्दै मेयर सुवेदीले स्वास्थ्य बीमा कार्यक्रमले गरीब तथा असहाय परिवारलाई सहयोग पुग्ने बताए । उनले बीमा गर्न समेत सबैलाई आग्रह गरे ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन चाहने ५ जना सदस्य भएको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ भने ५ भन्दा बढी १० जनासम्मले प्रतिव्यक्ति ७ सय बुझाउनुपर्ने उल्लेख गरिएको छ । एकै परिवारका १० जना भन्दा बढी सदस्य भए अन्य थप शुल्क लाग्ने छैन ।

प्रत्येक वडामा १ जना दर्ता सहयोगी राखिएको नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । बीमितले मङ्सिर १ गतेदेखि सेवा पाउने संयोजक विश्वकर्माले बताए । ‘बीमित हुुनेले प्राथमिक स्वास्थय केन्द्र बाहुनी तथा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालबाट प्राथमिक सेवा पाउनेछन्’, उनले भने, ‘त्यहाँ उपचार हुन नसके कोशी अञ्चल अस्पताल, हाम्रो अस्पताल, नोबेल मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीबाट सेवा लिन सकिन्छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसन लगायतका उपचार निःशुल्क प्राप्त गर्न सक्नेछन् ।