ताप्लेजुङः नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखाले जीवन बीमा गरेको छोटो अवधिमै मृत्यु भएकी फुङलिङ नगरपालिका वडा नम्बर २ की दिलमाया शङ्करको परिवारलाई २६ लाख रुपैयाँ मृत्यु दाबी रकम प्रदान गरेको छ ।
बीमा गरेको एक वर्ष नपुग्दै मृत्यु भएकी दिलमायाको परिवारलाई कम्पनीको नियमअनुसार बिहीबार बीमाङ्क रकम २५ लाख र बोनस समेत गरी २६ लाख ६२ हजार ५ सय रुपैयाँ दिइएको हो । सो रकम बराबरको चेक मृतक दिलमायाका श्रीमान् गंगा शङ्करले बुझेका छन् । पेशागत बीमा अभिकर्ता सङ्घ ताप्लेजुङका अध्यक्ष भीमप्रकाश दाहाल र शाखा प्रमुख हिमाल राईले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए ।
बीमित दिलमायाले २०७४ फागुन २० गते नौलो जीवन समृद्धि बीमा योजनाअन्तर्गत बीमा गराएकी थिइन् । बीमितले २५ लाख बीमाङ्कको पहिलो किस्ता २ लाख १४ हजार ८ सय ६८ रुपैयाँ बुझाएकी थिइन् ।