धनकुटाः आफ्नो जन्मदिनको अवसरमा धनकुटाको महालक्ष्मी नगरपालिकाका शाखा अधिकृत खगेन्द्र नेपालले आफू पढेको विद्यालयमा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा नेपालले सोही स्थानको जनता माध्यमिक विद्यालयमा कोष स्थापना गरेका हुन् । उनले विद्यालयका माध्यमिक शिक्षक तथा विद्यालय सहयोग समितिका संयोजक रेवतराज सुवेदीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । विद्यालयमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको नेपालले बताए । मदन भण्डारी फाउण्डेसन बौद्धिक मञ्चका संस्थापक सदस्यसमेत रहेका नेपालले जीतपुरमा क्याम्पस स्थापना गर्दा पनि सहयोग गरेका थिए । उनले विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आएका छन् ।