उर्लाबारीः मोरङ क्षेत्र नं. १ का सांसद् घनश्याम खतिवडाले स्थानीय तहका जनप्रतिनिधिको कामप्रति असन्तुष्टि जनाएका छन् ।
मोरङको उर्लाबारीस्थित उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १७ औँ साधारणसभालाई सम्बोधन गर्दै सांसद् खतिवडाले जनतासँग सबैभन्दा नजिक रहने स्थानीय तहका जनप्रतिनिधि अलिक बढी जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
राजनीतिलाई पेशा होइन सेवाको रूपमा लिनुपर्ने भन्दै उनले वडा सदस्यदेखि प्र्रधानमन्त्रीसम्मले जनतालाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए । उर्लाबारी नगरपालिकाका जनप्रतिनिधिबीचको विवादले उर्लाबारीले समाजमा नराम्रो छाप छोडिरहेको भन्दै सांसद् खतिवडाले हठ गरेर केही हुँदैन भन्दै एकता र समन्वय गरेर विकासको काममा लागिपर्न सुझाव दिए ।
साधारणसभामा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले सङ्घ र प्रदेशबाट आउने जुनसुकै योजना पनि हिम्मत लिएर नगरपालिकाले सम्पन्न गर्नुपर्ने बताइन् । उर्लाबारीको विकासका लागि थुप्रै योजना आएको बताउँदै उपमेयर भण्डारीले समयमै त्यसलाई सदुपयोग गर्न सकिएन भने भविष्यमा पछुताउनुको विकल्प नरहेको बताइन् । सो साधारणसभामा सङ्घीय खानेपानी कार्यालय विराटनगरका प्रमुख चक्रपाणि शर्मा र वडाध्यक्ष बीरबल थापाले पनि आफ्ना भनाइ राखेका थिए ।
संस्थामा प्लम्बरको रूपमा कार्यरत कर्मचारी रामप्रसाद भण्डारीलाई नगद ५ हजार र सम्मानपत्रले उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो । साधारणसभामा सचिव चिन्तामणि पौडेलले गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०७६÷७७ को प्रस्तावित कार्यक्रमका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उर्लाबारी खानेपानीले चालु आर्थिक वर्षमा उर्लाबारीको वडा नं. १ र ८ मा जग्गा व्यवस्थापन गरी दोस्रो सहलगानी खानेपानी आयोजना शुरु गर्ने भएको छ । यस्तै हालसम्म प्रदेश नं. १ मा खानेपानी तालीम केन्द्र भएकाले उर्लाबारी केन्द्र स्थापना गरिने योजना समावेश गरिएको छ ।