बेलबारीः मोरङको सुन्दरहरैँचा–१० मा रहेको सुकुना माध्यमिक विद्यालयले केही दिन अगाडि राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा ११ को नतिजामा देशकै पहिलो भएको दाबी गरेको छ ।
विज्ञान तथा सिभिल इञ्जिनियरिङतर्फको नतिजामा आफ्नो दुई विद्यार्थीले नेपालकै उत्कृष्ट नतिजा ल्याएर बोर्ड फस्ट भएको भनी विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सुकुना माध्यमिक विद्यालयले विज्ञानतर्फ सन्देश गिरी तथा विशाल विमलीले ३ दशमलव ९३ जीपीए तथा विधान विमलीले ३ दशमलव ९० जीपीए ल्याएर सर्वाेत्कृष्ट नतिजा ल्याएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यता राष्ट्रिय परीक्षा बोर्डले भने यसको पुष्टि गरेको छैन ।
सुकुना माध्यमिक विद्यालयले २०७६ को कक्षा १२ को नतिजामा सामुदायिक विद्यालयतर्फ देशभरमा दोस्रो भएको थियो । सुकुना माध्यमिक विद्यालयले कक्षा ११ को परीक्षामा सामेल १ सय २९ जना विद्यार्थीमध्ये १५ जनाले ३ दशमलव ६ भन्दा माथि, ३२ जनाले ३ दशमलव २ भन्दा माथि, ५८ जनाले २ दशमलव ८ भन्दामाथि, २२ जनाले २ दशमलव ४ भन्दा माथिको जीपीए ल्याएर शतप्रतिशत उत्तीर्ण गराउन सफल भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले बताए ।
वि. स. २०२९ सालमा स्थापना भएको सो विद्यालयमा २ हजार ३ सय विद्यार्थी रहेका छन् । नमुना विद्यालय विकास कार्यक्रम समेत उक्त विद्यालयमा चलिरहेको छ ।