ताप्लेजुङः लिम्बू विद्यार्थी मञ्चको केन्द्रीय अध्यक्षमा इन्द्रकुमारी (दीपा) लक्सम निर्वाचित भएकी छिन् ।

सोमबार ताप्लेजुङमा सम्पन्न मञ्चको ९ औँ महाधिवेशनबाट लक्समको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा नितेश सिङ्घक, उपाध्यक्षमा विक्रम शेर्मा, रामकुमार लिङ्दम, राजेश लिम्बू, दमन्ता साँवा र मोहन माबो रहेको पूर्व सचिव प्रजिन हाङवाङले जानकारी दिए ।

यस्तै, महासचिवमा गुल्सन आङबुहाङ, उपमहासचिवमा प्रदीप नेयोङ र सागर चेम्जोङ, सचिवमा सेनी तुम्बापो, तारावीर लिम्बू, प्रवीण सेलिङ र डिल्ली लिम्बू साथै कोषाध्यक्षमा मनकुमार लिम्बू निर्विरोध चयन भएका छन् । सदरमुकाम फुङलिङमा आयोजित महाधिवेशनको आइतबार प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गरेका थिए ।

मुलुकभरका लिम्बू विद्यार्थीको साझा संस्थाकोे प्रदेश १ का १३ जिल्लामा जिल्ला शाखा विस्तार भएका छन् । यस्तै, काठमाडौं उपत्यका शाखासमेत गठन भएको छ । लिम्बू भाषामा व्यावहारिक शिक्षा लागू गर्ने उद्देश्यसहित लोकगायक खगेन्द्र यक्सोको अध्यक्षतामा २०५५ सालमा मञ्चको स्थापना भएको थियो । सोहीअनुरूप आफू अघि बढ्ने नवनिर्वाचित अध्यक्ष लक्समले बताइन् ।