उर्लाबारीः नवप्रवर्तनात्मक सोच भएका युवाको राष्ट्रव्यापी रूपमा खोजी गर्दै उनीहरूमा भएको प्रतिभा प्रस्फुटनको अवसर जुटाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश नं. १ मा युवा नवप्रवर्तन केन्द्र स्थापना भएको छ ।
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा सोमबार राष्ट्रिय युवा परिषद् भक्तपुर, सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीबीच त्रिपक्षीय सम्झौतासँगै केन्द्र स्थापना भएको हो ।
कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीका अध्यक्ष गुरुप्रसाद बरालको रोहबरमा सम्झौतापत्रमा परिषद्का तर्फबाट प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, मन्त्रालयको तर्फबाट उपसचिव दामोदर फुयल र प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक ई. विनोद आचार्यले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा मन्त्री जीवन घिमिरेले युवाहरू वैदेशिक रोजगारमा पलायन हुने क्रम बढेकाले देशमै युवाहरूलाई क्षमताअनुसारको रोजगारीका लागि युवा नवप्रवर्तन केन्द्र स्थापना पहिलो पहलकदमी भएको बताए ।
उनले प्रदेश सरकारले कार्यक्रमको निर्देशिका तयार पारेर प्रदेश नं. १ मा चाँडै कार्यक्रम शुरु गर्ने जानकारी दिए । प्रदेश सरकारले सो कार्यका लागि १ करोड रुपैयाँ विनियोजन गरेको पनि उनले जानकारी दिए । नयाँ पुस्तालाई समृद्धितर्फ अघि बढाउनुपर्ने आवश्यक रहेको उनले बताए ।
त्यस्तै, युवा नवप्रवर्तन केन्द्रमार्फत् युवालाई नवीनतम सोचका साथ उन्नत प्रविधि र कार्य ढाँचाको विकास गर्दै व्यावसायिक प्रयोजनमा लगाई मुलुकको आर्थिक विकासमा सदुपयोग गर्न नवप्रवर्तन आवश्यक रहेको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले बताए ।
नवीनतम सोच लिएका युवाहरूलाई आवश्यक परामर्शका साथ प्राविधिक तथा व्यावसायिक तालीमका माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान र सीप प्रदान गर्न स्वरोजगार तथा उद्यमशील बनाउन युवाको पहँुचयोग्य स्थानमा नवप्रवर्तन केन्द्र हुनुपर्ने उनको भनाइ थियो । शिक्षालयमार्फत् गरिने कार्यले खोज तथा अनुसन्धानका माध्यमबाट उद्यमशीलताको विकासका साथ उत्पादनमूलक कार्यमा पूँजी परिचालन हुन गई बजारीकरणमा समेत सहयोग पुग्ने भएकाले नीति निर्माता, शैक्षिक निकाय र प्रयोगकर्ताका बीच सहकार्य हुन आवश्यक रहेको उनले बताएका छन् ।
त्यस्तै, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीका अध्यक्ष गुरुप्रसाद बरालले युवा नवप्रवर्तन केन्द्रमार्फत् केही गर्न चाहने युवाहरूलाई फलदायी हुने अपेक्षा लिएको बताए । छलफल र परामर्श गरेर कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन प्रतिष्ठान लागि पर्ने उनले बताए ।