इटहरीः ज्येष्ठ नागरिक दिवसको पूर्वसन्ध्यामा इटहरी उपमहानगरले ज्येष्ठ नागरिकका लागि इटहरीका ६ ठाउँमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरसहितको शिविरमा १ सय २६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा ल्याब सेवा र औषधी पनि निःशुल्क दिइएको थियो । विराट मेडिकल कलेज विराटनगरका जेनेरल फिजिसियन डा. रामकुमार मेहता, हाडजोर्नी रोग विशेषज्ञ डा. मिथलेशकुमार गुप्ता, स्त्री रोग विशेषज्ञ डा. सपना भगत, इटहरी अस्पतालका दन्तरोग विशेषज्ञ डा. आश्विनकुमार गुप्तालगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।

६० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर राखिएको बताइएकोेछ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविर उद्घाटन गरेकी थिइन् । दिनभर पानी परे पनि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भुपेन्द्र बरालले बताए ।

यसअघि ज्येष्ठ नागरिक दिवसकै अवसर पारेर इटहरीका वडा नम्वर १, ३, १२, १६ र १७ नम्बर वडामा स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो । ५ ठाउँमा भएका शिविरमा २ सय ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

itahari news  (3)