धनकुटाः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर धनकुटामा ८६ वर्षभन्दा माथिका ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सङ्घ धनकुटाले विजयादशमीको शुभकामना आदानप्रदानसहित धनकुटा नगरपालिकाका ७ जना ज्येष्ठ नागरिकलाई दोसल्ला एवं नगद ५ सय रुपैयाँसहित सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक सङ्घ धनकुटा नगर समितिले मङ्गलबार आयोजना गरेको कार्यक्रममा ८६ वर्षीय विष्णुमाया अधिकारीदेखि ९५ वर्षीय बुद्धिमान डङ्गोल सम्मका ज्येष्ठ नागरिक सम्मानित भएका छन् । ज्येष्ठ नागरिक वडा समितिको सिफारिशमा वडा नं.४ का ९१ वर्षीय देवी दाहाल, वडा नं.५ का भद्रमान घले, वडा नं. ६ का ८९ वर्षीय रामबहादुर श्रेष्ठ, वडा नं ७ का ९३ वर्षीय निरे मगर, वडा नं.१० का ८६ वर्षीय विष्णुमाया अधिकारी रहेका छन् । धनकुटा नगरपालिकामा सबैभन्दा ज्येष्ठ नागरिक ९५ वर्षीय बुद्धिमान डङ्गोल रहेका छन् ।

ज्येष्ठ नागरिक समाज परिवर्तनका मुख्य आधार भएका तथा अनुभवले परिपूर्ण भएका व्यक्ति भएका भएको आयोजक संस्थाका अध्यक्ष टीकाप्रसाद घिमिरेले बताए । पारिवारिक हेलामा बाँच्न बाध्य भएका ज्येष्ठ नागरिकलाई संस्थामार्फत् सहजीकरण गरिने उनको भनाइ थियो ।

आमाबुवाहरूको मान, सम्मान र कदर स्वरूप भए पनि सम्मान गर्दा नयाँ कार्यको शुरुवात भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए । ‘अब जिल्लाभरका ज्येष्ठ नागरिक सम्मानको कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘कामले निरन्तरता पाओस् । हाम्रो बाटो पनि त्यही हो ।’

ज्येष्ठ नागरिक भगवान हुनाले सबैले सधैँ कदर गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ज्येष्ठ नागरिकको सम्मानमा नगरपालिकाको पूर्ण सहयोग र समर्थन हुने उनको भनाइ थियो ।