फाइल तस्बिर
धनकुटाः हिले–लेगुवा सडक खण्डको बिग्रिएको सडक तत्काल व्यवस्थित गरी निर्बाध रूपमा यातायातका साधन चल्न सक्ने बनाउन जिल्ला प्रशासन कार्यलय धनकुटाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
निर्माणाधीन सडक हिलाम्मे भएर यातायातका साधन सञ्चालन हुन नसक्ने अवस्था आएपछि प्रशासनले सो निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय धनकुटामा सोमबार बसेको सर्वपक्षीय बैठकले तिहारपछि सडक ग्राभेलको काम अघि बढाउनसमेत भनेको छ ।
राजमार्ग तथा भित्री मार्गको यात्रा सहज बनाउन सडक आसपासका जोखिमपूर्ण रुख हटाउन तथा सडकमा जथाभाबी राखिएका काठ हटाउन जिल्ला बन कार्यालयलाई अनुरोध पनि गरिएको छ ।
त्यस्तै, चाडबाडमा बिजुली नियमित गर्न विद्युत प्राधिकरण धनकुटा शाखालाई आग्रह गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरेले जानकारी दिए । बैठकले घडेरी खार्दा सडकमा पर्न जाने असरलाई निरुत्साहित गर्न सडक डिभिजन कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेको अध्यक्षतामा भएको बैठकमा सांसद राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्य निरन राईसहित विभिन्न कार्यालय प्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।