बिर्तामोडः नेपाली चलचित्र क्षेत्रमा एक्सन प्रधान चलचित्र ‘शिवम्’ प्रदर्शनमा आउने भएको छ । शिवम् फिल्म असोज १७ गतेदेखि देशभरका ५० बढी हलमा प्रदर्शन हुने भएको हो ।

चलचित्रका वितरक पर्वत कार्कीका अनुसार शिवमले वर्षकै ‘प्राइम टाइम’ मा प्रदर्शनको मौका पाएको छ । देशभरका हलमा अहिले ‘रातो टीका निधारमा’ र ‘कबड्डी’को तेस्रो सिक्वेल प्रदर्शन भइरहेको छ । यस वर्षको विजयादशमीमा रिलिज हुने भएका कारण चलचित्रले अपेक्षा अनुसारको व्यापार गर्नेमा निर्माण पक्ष ढुक्क भएको छ ।

वितरक कल्पना खरेलले एक्सनप्रधान चलचित्रले नेपाली बजारमा प्रवेश नपाएको धेरै समय भएको हुनाले यस चलचित्रले अपेक्षित व्यापार गर्नेमा आशावादी रहेको बताइन् । एक्सनका साथै पारिवरिक कथावस्तु भएका कारण दर्शकले हलसम्म गएर चलचित्र हेर्ने उनले विश्वास व्यक्त गरिन् ।

चलचित्रलाई राज गिरीले निर्देशन गरेका छन् । एस. के प्रोडक्सन एण्ड मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रमा सोहम भेटवाल, शुभेच्छा थापा, पल्पसा डङ्गोल, प्रदीप गिरी, रवि गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको काठमाडांै र जोमसोममा छायाङ्कन गरिएको बताइएको छ ।

१ करोड रुपैयाँको लगानीमा निर्माण भएको चलचित्रले प्रदर्शनको पूर्वसन्ध्यमा झापाको सूर्याेदय टेलिभिजनसहित चलचित्रलाई सहयोग गर्ने ४ जनालाई सम्मान समेत गर्ने तयारी गरिएको बताएको छ । तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको जनाइएको छ ।