उर्लाबारीः मोरङको उर्लाबारीमा माटो परीक्षण प्रयोगशाला उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बाली विज्ञान सङ्काय राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ को आयोजनामा मङ्गलबार सो कार्यक्रम भएको हो । प्रदेश सरकारको सहयोगमा पूर्वी मोरङमै पहिलो पटक उर्लाबारीमा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको कार्यक्रम संयोजक मित्र खत्रीले जानकारी दिए ।
सो कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारका माटो वैज्ञानिक डा. श्रीप्रसाद विष्टको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईको सभापतित्व रहेको थियो । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी, कृषि पाठशाला सहकारीका अध्यक्ष दुर्गाप्रसाद खतिवडा, प्रदेश नं. १ कृषि मन्त्रालय बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ, पूर्वाञ्चल कृषि क्याम्पसका प्रबन्ध निर्देशक अनिलप्रसाद प्रसाईंलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन राधिका माविका प्रधानाध्यापक कुमार पोख्रेलले गरेका थिए ।