धरानः पूर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा गत बुधबार सम्पन्न दोस्रो मिस स्टेट १ को उपाधि धनकुटाकी रजनी लिम्बूले हात पारेकी छिन् भने गायनतर्फको विजेता मोरङका सुमित राई भएका छन् ।

धरान सभागृहमा आयोजना भएको मिस स्टेट १ दोस्रो सिजनको उपाधि हात पार्दै लिम्बूले सुजुकीको स्कुटरसहित एसडी कलेजमा ब्याचलर तह अध्ययनका लागि पूर्ण छात्रवृत्तिसहित एयर होस्टेजका लागि पनि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छिन् । लिम्बूले मिस ट्यालेन्ट र मिस डिसिप्लिनको पनि टाइटल हात पारेकी छिन् ।

यता पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन ७ को उपाधि हात पार्दै राईले नगद ५० हजार सहित २ ओटा गीत रेकर्ड, एउटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष साथमा गिटार प्राप्त गरेका छन् ।

मिस स्टेट १ सिजन २ को फस्ट रनर अप खोटाङकी युनिका राई घोषित भइन् भने सेकेण्ड रनर अप सुनसरीकी स्यारोन सुब्बा भइन् । उनीहरूले क्रमशः ५० हजार र २५ हजार नगदसहित एसडी कलेजमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिसहित एयर होस्टेज अध्ययनका लागि ३० प्रतिशत छुट प्राप्त गरेका छन् । राईले मिस भ्युअर्स च्वाइसको टाइटल पनि जितेकी छिन् भने सुब्बाले बेस्ट स्माइलको टाइटल हात पारेकी छिन् ।

त्यस्तै, अन्य टाइटल अवार्डअन्तर्गत मिस स्क्टीभ सप्तरीकी सावित्री झा, मिस पङच्युअल झापाकी निशा योगी, मिस बेस्ट क्याटवक सङ्गीता चौधरी, मिस बब्ली खोटाङकी उषा राई, मिस इन्टेलिजेण्ड सुनसरीकी अकु राई, मिस पर्सनालिटी धनकुटाकी श्रद्धा रिजाल, मिस फोटोजेनिक धनकुटाकै सिर्जना लिम्बू, मिस इन्टेलेक्च्युल सुनसरीकी मेघा न्यौपाने, मिस बेष्ट फिगर तेह्रथुमकी नारायणी सुब्बा लिम्बू घोषित भए ।

यसैगरी, गायनतर्फ भोजपुरकी बबिना राई फस्ट रनर अप र सोलुखुम्बुका सुवास बन सेकेण्ड रनर अप बनेका छन् । फस्ट रनर अप राईले नगद २५ हजार सहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क सङ्गीत कोर्ष र गिटार हात पारे भने सेकेण्ड रनर अप बनले नगद १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क सङ्गीत कोर्ष र एउटा गिटार प्राप्त गरेका छन् ।

त्यस्तै बेस्ट भोकलमा सङ्खुवासभाका भीम तामाङ, बेस्ट डिसिप्लिनमा मोरङका सुमन राई, बेस्ट पर्फमेन्समा इलामकी निशा राई, बेस्ट पब्लिक च्वाइसमा अन्तिम राईले उपाधि हात पारेका छन् ।

विजेताहरूलाई केन्द्रका अध्यक्ष भक्तिराज राई, वराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका पब्लिक रिलेसन अफिसर सुरेन्द्र सिंह विश्वकर्मा लगायतले पुरस्कार तथा उपहार प्रदान गरेका थिए । कार्यक्रका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङ्बो रहेका थिए ।

प्रदेश नं. १ का १५ वर्षमाथिका अविवाहित युवायुवतीहरूलाई लक्षित गरी गायन प्रतियोगिता विगत ७ वर्षदेखि सञ्चालन हुँदै आएको छ भने सौन्दर्य प्रतियोगिता अघिल्लो वर्षदेखि शुरु गरिएको केन्द्रका अध्यक्ष राईले बताए । पूर्वाञ्चलका विभिन्न दुर्गम र विकट क्षेत्रमा रही प्रतिभा भएर पनि अवसरको कमीले ओझेलमा परेका नवयुवा प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना हुँदै आएको उनले बताए ।