उर्लाबारीः मोरङको उर्लाबारी–२ मा रहेको सुनझोडा माध्यमिक विद्यालयले रजत महोत्सव मनाउने भएको छ ।

बुधबार सञ्चार क्लब नेपालमा पत्रकार सम्मेलन गरी पुस १५ गतेदेखि ३ दिनसम्म रजत महोत्सव मनाउने भएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

रजत महोत्सव मनाउन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर कँडेलको अध्यक्षतामा रजत महोत्सव मूल समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । महोत्सवलाई भव्य बनाउन विभिन्न १२ ओटा उपसमिति गठन गरिएको छ ।

रजत महोत्सव सम्पन्न गर्नका लागि करीब ७ लाख रुपैयाँ खर्च हुने र सहयोगी दाताबाट उक्त रकम जुटाइने प्रचारप्रसार समितिका संयोजक दिव्यना अधिकारीले जानकारी दिए । रजत महोत्सवमा विद्यालय व्यवस्थापनका पूर्व पदाधिकारी, पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी, एसईई उत्तीर्णलगायतलाई सम्मान गर्ने उनको भनाइ छ । रजत महोत्सव स्मारिका प्रकाशन, नगरस्तरीय अन्तर मावि अतिरिक्त क्रियाकलाप, सांस्कृतिक झाँकी, स्मारिका प्रकाशनलगायत गरिने प्रधानाध्यापक मुकुन्दराज निरौलाले जानकारी दिए ।

२०५१ सालमा स्थापना भएको सो विद्यालयमा ३ सय ५० जना बालबालिकाहरू अध्ययनरत रहेका छन् ।