इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ ले ज्येष्ठ नागरिक तथा गर्भवती महिलाहरूलाई लक्षित गर्दै निःशुल्क ल्याब सेवा सञ्चालनमा ल्याएको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयमै ल्याब सेवाको उद्घाटन गरिएको छ ।

सेवाको प्रदेश सांसद चुमनारायण तवदारले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तवदारले वडा कार्यालयको पहलमा ल्याइएको सेवाले राम्रो उपलब्धी निकाल्ने बताए ।

सो वडामा अध्यक्ष जीवनप्रसाद ढुङ्गानाले नेपालका सबै वडा कार्यालयमध्ये आफ्नो कार्यालय ल्याब सेवा शुरु गर्ने पहिलो वडा भएको उनले दाबी गरे । ज्येष्ठ नागरिकलाई निःशुल्क तथा गर्भवती महिलालाई ५० प्रतिशत छुटमा सेवा उपलब्ध गरिने उद्घाटनमा उनले बताए ।

वडाध्यक्ष ढुङ्गानाले सानो बिराम तथा रोगको परीक्षण गर्न इटहरी र विराटनगर धाउनुपर्ने समस्यालाई हल गर्ने कोशिस गरेको बताए ।

वडा कार्यालयमा २ जना ल्याब टेक्निसियन राखेर सेवा शुरु गरिएको छ ।