धरानः विगत २१ वर्षदेखि वर्षेनी आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम छिमेकी साँझ यस वर्ष पनि तिहार अवागै हुने भएको छ ।

दीपावलीको अवसरमा धरान–१२ स्थित छिमेकी युवा समूहले साँझको आयोजना गर्दै आएको छ । कात्तिक ८ गते चतरालाइनमा सो साँझको आयोजना हुने भएको हो । स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै नव प्रतिभामध्येबाट उत्कृष्ट साङ्गीतिक प्रतिभाको खोजी गर्नका लागि साँझको आयोजना गर्दै आएको आयोजकले जनाएको छ ।

यस वर्ष पनि छिमेकी साँझमा सहभागी नवप्रतिभा मध्येबाट उत्कृष्टलाई ‘राइजिङ स्टार’ पदकसहित २५ हजार पुरस्कार प्रदान गरिने भएको छ । विगतमा छिमेकी साँझबाट गायन शुरु गरेका गायक कलाकार कालान्तरमा राष्ट्रिय तहमा चर्चित भई स्थापित भएकाले समूहले आफ्नो पहिचान ठहर गर्दै यस पटकदेखि साँझमा सहभागी नव प्रतिभाहरूलाई प्रतिष्पर्धाको आधारमा पुरस्कार र पदक प्रदान गर्ने निर्णय भएको समूहका अध्यक्ष राजेन्द्र राईले बताए ।

राइजिङ स्टारको व्यवस्थापन धरान सङ्गीत प्रतिष्ठानले गरिरहेको सचिव सचेन्द्र राईले जानकारी दिए ।