धनकुटाः धनकुटामा पहिलो पटक सञ्चालन गरिएको मिस धनकुटाको उपाधी पाख्रीबासकी सावित्रा घिमिरेले जितेकी छिन् ।

बुधबार राति धनकुटामा सम्पन्न फाइनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीबास नगरपालिका–३ की घिमिरेले उपाधी चुमेकी हुन् । उपाधीसँगै घिमिरेले स्कुटर प्राप्त गरिन् । त्यस्तै, १० लाख रुपैयाँको जीवन बीमा, एयर होस्टेज तालीम, थाइल्याण्डको भ्रमण र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडांैले जनाएको छ ।

प्रतियोगिताको फस्ट रनरअप सोनी कार्की र सेकेण्ड रनरअप निरुता सुब्बा घोषित भए । उनीहरूले क्रमशः ४० हजार र २० हजार नगद सहित ५ लाख रुपैयाँको जीवन बीमा सुविधा, एयर होस्टेज तालीम, थाइल्याण्डको भ्रमण र म्युजिक भिडियोमा अभिनयको अवसर पाउने आयोजक संस्थाका अध्यक्ष दीपक बराइलीले बताए । यस्तै मिस धनकुटाका प्रतियोगीमध्ये विभिन्न १० विधामा उत्कृष्ट प्रतियोगीलाई पनि पुरस्कृत गरिएको थियो ।

मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंको आयोजना तथा प्रस्तावित लेडिज धनकुटाको सह आयोजनामा भएको मिस धनकुटा कार्यक्रममा महानायक राजेश हमाल, चलचित्र निर्देशक विभुल पोख्रेल, होटल एसोसियन इटहरीका अध्यक्ष जीवन पराजुली र मिस नेपाल सेकेन्ड रनरअप शान्ति पाख्रिन निर्णायक रहेका थिए ।