इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त १३२९ नम्बरको ट्याक्टरमा सवार सोही वडाका २२ वर्षीय मिलन कार्की ट्याक्टरबाट लडेका थिए । उनलाई सोही ट्याक्टरको पछाडिको चक्काले किचेर गम्भीर घाइते बनाएको थियो ।
उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो । घटनापछि ट्याक्टर चालक मिक्लाजुङ– ६ का २६ वर्षीय देवेन्द्र थापा फरार भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ट्याक्टर भने इलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।