इटहरीः दुहबी नगरपालिकाको वडा नम्बर २ स्थित दुहबी– इनरुवा सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक प्रहरी जवानको मृत्यु भएको छ ।

दङ्गा नियन्त्रण प्रहरी गण अगाडि भएको दुर्घटनामा को १ ख ५६७२ नम्बरको मजदुर बसले विपरीत दिशातर्फ गइरहेको स ७ प ७२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो ठक्करबाट मोटरसाइकल चालक उदयपुरको त्रियुगा– १३ घर भएका सुजन रेग्मीको मृत्यु भएको थियो ।

दङ्गा नियन्त्रण प्रहरी गण दुहबीमा कार्यरत रेग्मी र पछाडि सवार मोरङको गोविन्दपुर घर भई सोही कार्यालयमा कार्यरत प्रहरी जवान किरण कठेत गम्भीर घाइते भएका थिए । तीमध्ये रेग्मीको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेका बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको र फरार बस चालकको खोजी भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।