धरानः विभिन्न चाडमा पुरातनवादी दृष्टिकोणलाई छाड्दै जीवन्त पर्व बनाउन नेकपाका प्रदेश नम्बर १ इञ्जार्च भीम आचार्यले आग्रह गरेका छन् ।

नेकपा धरान उपमहानगर समितिले आयोजना गरेको दशैं, तिहार, छठ, ल्होसार पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै इञ्चार्ज आचार्यले नेपालीले मानिरहेका सांस्कृतिक पर्वमा केही अन्धविश्वास रहेकाले ती अन्धविश्वासलाई सच्याउँदै जाने हो भने नेपालीको संस्कारलाई जीवन्त बनाउन सकिने बताए । उनले भने, ‘सबै जातजातिका मानिस र विभिन्न धर्म संस्कृति मान्ने एकै ठाउँमा मिलेर बसेका छौं, त्यही नै नेपालको विशेषता हो, यसले समाजमा सांस्कृतिक सम्मिश्रण हुँदै गएको छ ।’

समाजमा जातीय एकता, आर्थिक सम्बन्ध र सामाजिक सम्बन्धले समाजलाई एकसूत्रमा बाँधेर लाने उनले विश्वास गरे । उनले मंसिर १४ गते हुने उपनिर्वाचनमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उपनिर्वाचनका लागि आन्तरिक सहमतिमै उम्मेद्वारको टुङ्गो लगाउन धरान उपमहानगर कमिटीलाई आग्रह गरे । निष्पक्ष ढङ्गले धरानको निर्वाचनबाट नेकपाका उम्मेदवारलाई विजयी गराउन सबै पार्टी पंक्तिबाट सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गर्न उनको आग्रह थियो । उनले भने, ‘माथिल्लो निकायलाई निर्णय गर्न सहज बनाउने गरी उम्मेदवारको सिफारिश गर्न आग्रह गर्न चाहन्छु, जसले गर्दा धरानको समग्र विकासमा टुवा पु¥याउनेछ ।’

कार्यक्रमको अवसरमा अन्य पार्टी परित्याग गरी ५ जना नेकपा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसका सदस्य तथा सुनसरी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहेका शिवराज श्रेष्ठ, लामो समय सम्म काङ्ग्रेसमै रहेका सिद्धिकर्ण शर्मा, राप्रपा नेपालका अर्जुन विश्वकर्मा, सङ्घीय लिम्बुवान मञ्च नेपालका सदस्य तथा कराते प्रशिक्षक स्वर्णिमहाङ फोम्बो, र शुभेच्छा अधिकारीले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।

नेकपाका नगर अध्यक्ष नारायण सुवेदीको सभापतित्वमा भएको चियापान तथा शुभकामना कार्यक्रममा प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइली, नेकपाका प्रदेश सदस्य मुक्साहाङ मेन्याङ्बो, जिल्ला सदस्य चोत्लुङ, पार्टी प्रवेश गर्नेको तर्फबाट शिवराज श्रेष्ठ, पार्टी प्रतिनिधिको तर्फबाट काङ्ग्रेसका धरान नगर सचिव श्याम पोख्रेललगायतले शुभकामना व्यक्त गरेका थिए ।