इटहरीः ‘सांस्कृतिक विविधताको सम्मान’ भन्ने नाराका साथ विश्व बायोइथिक्स दिवस मनाइएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यवाहक उपकुलपति एवम् शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालले स्वास्थ्य र चिकित्सा शिक्षामा इथिक्स र परस्परको सम्मान गर्नेबारे विद्यार्थीकालदेखि नै सचेत हुन यस खालका कदम आवश्यक हुने कुरा औँल्याए ।

बायोइथिक्सविज्ञ त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थान महाराजगञ्जका प्रा.डा. रमेशप्रसाद आचार्यले कार्यक्रममा बायोइथिक्स र यस वर्षको अवधारणाबारे जानकारी दिएका थिए । प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक कार्यक्रममा वक्ताहरू डा. अशोक ऐर, डा. अरुण कोइराला, खेमचन्द्र सुवेदी, विद्यार्थी सङ्कायका डा. सुमित शर्मा लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बायोइथिक्स नेपाल एकाईका प्रमुख तथा कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन र मननको यस्ता अवसर र कार्यक्रम नियमित र बिस्तारित हँुदै जाने बताए ।

सो अवसरमा आयोजित फोटो प्रतियोगितामा स्नेहिल अग्रवाल, फिल्ममा प्रसन्न सुवेदीको समूह, आर्ट पोस्टरमा विवेक कट्टेल, टी–सर्ट डिजाइनमा शालु पराजुली, रङ्गोलीमा अक्षता श्रेष्ठ, अमृता मण्डल र रेनु शाहको समूह तथा निबन्धमा सदिच्छा खड्का उत्कृष्ट भएका छन् । नेपालका उत्कृष्टमध्येबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा स्नेहिल अग्रवालको फोटो तेस्रो भएको छ ।

यस वर्ष एकाइबाट आयोजित विविध कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अन्य मेडिकल कलेजबाट पनि सहभागिता रहेको थियो ।

विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएको हो ।