धरानः दलित समुदायका युवालाई मिडियाप्रति आकर्षित गर्ने लक्ष्यका साथ पिस मिडिया ग्रुपले एक दिने मिडिया उत्प्रेरणा तालीम सम्पन्न गरेको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर १५ को दलित लक्षित कार्यक्रमअन्तर्गत वडाका विभिन्न टोल विकास समितिका १६ जना युवा तथा युवतीले सहभागिता जनाएका थिए । दलित समुदायमाथिको विभेदको अन्त्य र अधिकार सुनिश्चितताका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले युवाहरूलाई मिडियाप्रति आकर्षित गराउन कार्यक्रमको आयोजना गरिएको पिस मिडिया ग्रुपका संयोजक दिनेश गजमेरले बताए ।

कार्यक्रमका प्रमु्ख अतिथि वडा नम्बर १५ का अध्यक्ष नरेशकुमार इवारमले मिडिया उत्प्रेरणा तालीममा समाज परिवर्तनका लागि मिडिया आवश्यक भएकाले दलित समुदायको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने बताए । उनले समाजसँगै समुदायको अधिकार सुनिश्चितताका लागि आवाज बुलन्द गर्न मिडियामा प्रतिनिधित्वका लागि सदैव साथ रहने प्रतिबद्धता जनाए ।

सामाजिक, आर्थिक, शैक्षिक क्षमताको कमीले सञ्चार क्षेत्रमा दलित समुदायको उपस्थिति न्यून रहेको छ । जसका कारण दलित समुदायका मुद्दाहरू सञ्चारमाध्यममा आउन नसकेको उनले बताए । जसको पीडा उसैको कलमको माध्यमबाट परिवर्तनका लागि अनिवार्य रहेकाले तालीमले युवाहरूलाई उत्प्रेरणा मिल्ने अपेक्षा गरिएको गजमेरको भनाइ छ ।

पहिलो चरणमा दलित समुदायका युवालाई मिडियाप्रति उत्प्रेरणा जगाउँदै दोस्रो चरणमा उनीहरूले चाहे जस्तो सञ्चारमाध्यमको तालीम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

दलित महिला वडा सदस्य निरमाया बिकको सभापतित्वमा भएको एक दिने तालीममा नागरिक दैनिकका पत्रकार रोहित राई र ग्रुपका संयोजक दिनेश गजमेरले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र बस्नेत, दलित विकास समितिका संयोजक किशोर परियारलगायतको उपस्थिति रहेको थियो ।