बेलबारीः बेलबारी नगरपालिकाले मासिक बजार अनुगमन गर्ने भएको छ । दशैंअघि गरिएको अनुगमनमा बजारमा म्याद सकिएका उपभोग्य वस्तु प्रशस्त भेटिएपछि मासिक बजार अनुगमन गर्ने निर्णय भएको बताइएको छ ।

‘मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वस्तु व्यापारीहरूले खुलेआम बजारमा बेचेको पाइयो’, अनुगमन समतिका संयोजक महेन्द्र खड्काले भने, ‘अब मासिक रूपमा अनुगमन गर्छाँै ।’ उपभोक्ताले खरीद गर्ने दैनिक उपभोग्य वस्तुमा नै व्यवसायीले लापरवाही गर्न थालेपछि अनुगमनलाई कडाइ गर्न थालिएको उनले बताए । ‘डिपार्टमेन्ट तथा सपिङ सेन्टरमा नै धेरै खाद्यवस्तु म्याद गुज्रिएको पाइयो’, खड्काले भने, ‘हामीले अनुगमन गर्दा डेढ लाख भन्दा बढीको सामग्री ल्याएर नष्ट गरेका छौँ ।’

‘दशैंअगाडि किराना पसल अुनगमन गरेका छौँ’, अनुगमन समतिका सदस्य तथा स्वास्थ्य शाखाका संयोजक सन्तोष बिश्वकर्माले भने, ‘अब मासु, मिठाइ, औषधी पसल, कपडा तथा होटलमा तिहारभन्दा अगाडि नै अनुगमन गर्छौँ । ठूला व्यापारीहरूले म्याद गुज्रिन लागेका वस्तु गाउँका पसलमा पठाउँदा रहेछन् । हामीले गाउँका पसलमा समेत अनुगमन गर्न थालेका छौँ ।’ उनका अनुसार अनुगमन समतिले बेलबारी, लालभित्ती, बाहुनी, लक्ष्मीमार्ग र भाउन्नेका बजारमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बिस्कुट चकलेट, चाउचाउ, तेल, मरमसला तथा पेयपदार्थ स्प्राईट, ड्यु, मिरिण्डालगायतका सामग्री म्याद गुज्रिएको भेटिएको अनुगमन समितिको भनाइ रहेको छ । अनुगमन समितिले उपभोक्ताले देख्ने ठाउँमा उपभोग्य वस्तुको मूल्यसूची टाँस्नुका साथै नगरपालिकामा दर्ता गराएर मात्रै पसल सञ्चालन गर्न निर्देशनसमेत दिएको छ ।