धरानः निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकासका लागि सुनसरीको क्षेत्र नम्बर १ मा सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

सडक सञ्जाल गाउँ र नगरको विकास गर्ने पहिलो आधार भएकाले क्षेत्र नम्बर १ को विकासमा पहिलो प्राथमिकता सडक बिस्तारमा परेको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य जयकुमार राईले बताए ।

निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमअन्तर्गत सुनसरीको क्षेत्र नम्बर १ को सडक निर्माणसँगै भौतिक पूर्वाधारका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सुनसरीको धरान, वराहक्षेत्र र रामधुनीका विभिन्न वडामा सडक निर्माणसँगै भौतिक निर्माणलाई बजेटले प्राथमिकतामा राखेको हो ।

कात्तिक ४ गते राईको अध्यक्षतामा बसेको बैठकले धरानका विभिन्न पूर्वाधार विकासका लागि ४ करोड १० लाख, वराहक्षेत्रका ३ ओटा वडाको लागि १ करोड ३० लाख र रामधुनीका २ ओटा वडाका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ का लागि पूर्वाधार विकास साझेदार कार्यक्रमअन्तर्गत सडक बिस्तार तथा कालोपत्रे गर्न २ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी, विभिन्न सङ्घसंस्था तथा बहुउद्देश्यीय प्रयोजनका लागि बनाइएका भौतिक पूर्वाधारमा १ करोड ७० लाख, खहरे नियन्त्रणमा १५ लाख, बीपी र ज्येष्ठ नागरिक पार्क निर्माणमा ३० लाख, पुल निर्माणमा ३० लाख, धरानमा थिएटर हल निर्माणका लागि ४० लाख र ड्रेन निर्माणका लागि १० लाख रुपैया बजेट विनियोजन भएको छ ।

विकासको पहिलो आधार भनेको नै सडक सञ्जाल भएकाले सडक बिस्तार र निर्माणलाई पहिलो प्राथमिकता दिएको राईको भनाइ छ । उनले भने, ‘विकासमा एकअर्काबीच कनेक्टिभिटी महत्वपूर्ण छ, स्थानीयको माग नै सडक रहेको छ, त्यसैले सडकलाई प्राथमिकता दिएका छौंँ ।’ सङ्घ र प्रदेशमा नपरेका योजनालाई बढी प्राथमिकतामा राखेको उनको भनाइ छ ।