धनकुटाः धनकुटामा नेपाली सेनाले ‘एक सिपाही, एक फलफूलको बिरुवा’ अभियानको प्रारम्भ गरेको छ ।

सरकारले घोषणा गरेको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ लाई सफल पार्न तथा ऐक्यबद्धता जनाउन नेपाली सेनाले पनि यो अभियानको प्रारम्भ गरेको हो । महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजारमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले एभोकाडोको बिरुवा रोपेर अभियानको प्रारम्भ गरेका हुन् ।

महालक्ष्मी नगरपालिका र धनकुटामा रहेको २ नं. बाहिनी अड्डा र वरख गणको सहभागितामा नगरपालिकाको वडा नं. १, ५, ७, ८ र ९ मा अवस्थित करीब ३ सय स्थानीय घरधुरीलाई लक्षित गरी प्रत्येक परिवारको प्राङ्गणमा ४ ओटा, खाली सरकारी जमिन, स्कुलको प्राङ्गण र मन्दिरमा गरी ३ हजार १ सय ६० विभिन्न फलफूलको बिरुवा रोपिने बताइएको छ ।

‘फलफूल रोप्न बढाऔँ हात, जनतालाई नेपाली सेनाको हात’ भन्ने मूल लक्ष्य लिई बाहिनी अड्डा तथा अन्तर्गत धनकुटा, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम र सङ्खुवासभामा तैनाथ सम्पूर्ण गण तथा गुल्महरूले स्थानीय तह र सरोकारवाला निकायहरूसँग सहकार्य गरी वृक्षरोपणको व्यवस्था मिलाइएको छ । उक्त अभियान अन्तर्गत विभिन्न प्रजातिका २० हजार फलफूलको बिरुवा रोपिने नेपाली सेनाले जानकारी दिएको छ ।