बेलबारीः मोरङको बुढीगंगा गाउँपालिका वड नम्बर १ को शान्ति चोकमा सोमबार बिहान सवारी दुर्घटना हुँदा बाबुछोरीको मृत्यु भएको छ । बाबु डाक्टर र छोरी नर्स भएको बताइएको छ ।

सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बुढीगंगा गाउँपालिका वडा नम्बर ५ का नेत्र रोग विशेषज्ञ डाक्टर शुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी २६ वर्षीया छोरी अञ्जली माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को २७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर जाँदै गरेका बाबु छोरीलाई विराटनगरबाट सुनसरीको खनारतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।

बस खनारमा रहेको कल फेसन्स सोलुसन नामक कपडा उद्योगका कामदारलाई लिन गएको बताइएको छ । दुर्घटनामा परेर घाइते भएका दुवै जनालाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।