इटहरीः जनता बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि प्रयास थालिएको छ । चुनिएको नयाँ व्यवस्थापन समितिले क्याम्पसका १३ विषयगत समितिका संयोजकलाई शैक्षिक सुधारमा देखिएका अवरोध र सुधारका उपाय बारे प्रस्तुति दिन लगाएको छ । विषयगत समितिका अर्जुन उप्रेती, विष्णुमाया शर्मा,सञ्जीवकुमार यादव ,पीताम्बर सी राई, मदनराज बराल ,कमलराज दाहाल, लीला बहादुर कार्की, राजन भट्टराई,शान्तिराम दाहाल, विमल नेपाल र बद्रीप्रसाद ढुङ्गेलले प्राेजेक्टरमार्फत विषयगत समस्या सहित नतिजा विश्लेषण प्रस्तुत गरेका थिए ।
यसै गरी आमसञ्चार विषय शिक्षक गणेश पौडेलले पनि विषयको प्रकृति र त्यसका समस्या प्रस्तुत गरे । क्याम्पसमा प्राध्यापकको विषयको विषय भार र आन्तरिक एवंम बाह्य परीक्षाको नतिजा विश्लेषण गरिएको थियो ।
शैक्षिक सुपरिवेक्षण समिति संयोजक धनबहादुर लिम्बुले शैक्षिक समस्या समाधान गर्न व्यवस्थापन समिति चनाखो भएर लाग्ने विचार व्यक्त गरे । कोष तथा लेखा परिचालन संयोजक तीर्थ पराजुलीले समय सापेक्ष सुविधाहरू र आर्थिक परिचालनमा सचेत रहने भनाइ राखे । प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रेवतीरमण भण्डारीले विगतका राम्रा कामकाे अनुसरण र कमजोरीहरू सच्याउँदै उत्कृष्ट शैक्षिक केन्द्र र सुविधा सम्पन्न अनुसन्धान केन्द्रकारुपमा जनता क्याम्पसलाई विकास गर्न सबैलाई साथ दिन आग्रह गरे ।

अन्तरक्रियात्मक कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, सदस्य,प्राध्यापक, कर्मचारी समेतको उपस्थिति रहेको थियो ।