सोलुखुम्बुः कात्तिक १९ गते सगरमाथा क्षेत्रमा घुम्न आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतेकै ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान उनी मृत अवस्थामा भेटिएका थिए ।

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

उनी एडभेन्चर प्रालि काठमाडौँमार्फत खुम्बु भ्रमणमा आएका थिए । यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।