धरानः आगामी मङ्सिर १४ गते हुने धरानको मेयर र वडा नम्बर ७ को अध्यक्षको लागी अहिले चुनावी माहौल तातिएको छ । चुनावी अभियान तातिएसँगै आफ्नो साख जोगाउन नेकपा धरान लागी परेको छ ।
घरदैलो कार्यक्रममा नेकपाका मेयरका बलिया उमेद्वार प्रकाश राईको दौडधुप बढेको छ । २०७४ असार १४ मा भएको अघिल्लो स्थानीय चुनावमा पनि मेयरका उमेद्वार बनेका कांग्रेस नेता तिलक राईसँग चुनावी भिडन्त गर्न नयाँ अनुहार प्रकाश राईले दौडधुप बढाएका छन् ।
अहिले घरदैलो अभियानमा व्यस्त नेकपाले ११ गते प्रचण्डको प्रमुख आतिथ्यमा चुनावी सभाको कार्यक्रम समेत सार्वजनिक गरिसकेको छ ।
यस्तो थियो अघिल्लो स्थानीय चुनावको अङ्कगणित
७९ हजार २ सय ९० मतदाता भएको २०७४ असार १४ को चुनवामा तत्कालीन एमालेका उमेद्वार तारा सुब्बाले काँग्रेसका उमेद्वार तिलक राई भन्दा ४ हजार ८ सय ७३ मत बढी ल्याएर विजयी भएका थिए ।
सुब्बाले २०७४ असार २६ गते २० हजार ९ सय ७५ मत ल्याएर विजयी भएका थिए । काँग्रेसका हालका मेयरका उमेद्वार समेत रहेका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए भने तत्कालीन माओवादीका युवा उमेद्वार आइन्द्र विक्रम बेघाको भने ११ हजार १ सय ८० मत आएको थियो ।
२०४९ मा एमालेका ध्यान बहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङ्बोले चुनाव जितेको धरानको मेयरमा २०७४ मा पनि एमालेकै तारा सुब्बाले जितेका थिए ।
एक्लै एमाले हुँदा पनि जित निकालेको धरानमा नेकपा बनेपछि झनै जित सुनिश्चित भएको धरानका नेकपा नेता भिमज्वाला राई बताउँछन् । सत्तारुढ नेकपाका नेताहरूले चुनाव सहजै जित्ने सार्वजनिक आत्मविश्वास व्यक्त गरिरहँदा नेपाली काँग्रेसले पनि जित्ने दाबी गर्दै आएको छ ।
धरानका कांग्रेसनेता किशोर राई भने स्थनिय, प्रदेश र सङ्घमा नेकपाको सरकारसँग असन्तुष्ट मतदाताले धरानको मेयरमा कांग्रेसलाइ विजयी गराउने दाबा गर्छन् ।
धरानको उपचुनावमा मुलतः नेकपा र नेपाली कांग्रेसको प्रतिस्पर्धा हुने भनिएपनि समाजवादी पार्टी र लिम्बुवानको पनि राम्रो मत भएको जानकारहरु बताउँछन । समाजवादीका उमेद्वार गजेन्द्र इस्बो तथा मन्च सम्बद्ध संघिय लिम्बुवान मंचका उमेद्वार अमर इजमको पनि राम्रो माहोल भएको उनीहरुको भनाइ छ ।