इटहरीः रानी– धरान ६लेन सडक अन्तर्गतको इटहरी तरहरा खण्डका बारे इटहरी नगरपालिकाले धारणा परिवर्तन गरेको छ । मेयर द्वारिकालाल चौधरीले हिजो सम्म डिजाइन स्टिमेट बमोजिम अर्थात् ४० मिटर चौडा सडक बनाउनुपर्ने बताउँदै आएका थिए । तर, आज उनका सहयोगी महेश्वर कार्कीले सामाजिक सञ्जालमा हालेको भिडियोमा भने जनताको माग बमोजिम सर्भिस लेनसम्म अर्थात् सडकको बिचबाट २५– २५ मिटर (५० मिटर चौडा ) बाटो बन्नुपर्ने बताएका छन् ।

केही दिन अघि इटहरी नागरिक समाजले गरेको सर्वपक्षीय छलफलमा पनि मेयर चौधरीले ४० मिटर नबढाई गरिएको डिजाइन स्टीमेट बमोजिम नै सडक बनाउनुपर्ने धारणा राखेका थिए । उनले सडकको बाँकी १० मिटर क्षेत्रफलको बारेमा भने बोलेका थिएनन् ।
अहिले भने मेयरलाई चौतर्फी दबाब आएको छ । जनप्रतिनिधि चुप बस्दा इटहरीको सडकखण्ड साँघुरो हुन लागेको भन्दै नागरिक स्तरबाट दबाब सृजना भएको हो । इटहरीका युवाहरूकाे टोलीले संयुक्त सँघर्षसमिति बनाइ दबाब दिन थालेपछि भने मेयरलाई दबाब भएको छ । सोहीअनुसार उनले आज सर्भिस लेन अर्थात् ५० मिटर क्षेत्रफल भित्रै संरचना बन्नुपर्ने बताएको प्रस्ट देखिन्छ ।
‘सम्पूर्ण नगरवासीको माग छ । सर्भिस लेन पनि सडकसँगै बन्नुपर्छ ।’ उनले भनेका छन् । ‘नगरपालिकाले प्रस्टसँग भनिसकेकाे छ, सर्भिस लेनको काम पनि अविलम्ब सुरु गर्नुपर्छ ।’

मेयरले  युवासँगकाे भेटमा भने अहिले सडककाे डिपिअार बाहेककाे सडककाे भाग खाली गराउँदा याेजनामा असर पुग्ने भन्दै दायाँबायाँका ५, ५ मिटर क्षेत्रफलमा बनेका सँरचना याेजनाले नहटाउने बताएका थिए ।