इटहरी ः केही दिन यता देखि इटहरीमा विरामीहरुका लागि आवश्यक रगत अभाव नहोस भनेर आकस्मिक रक्तदान कार्यक्रम हुने क्रम बढेको छ ।
मौसम परिर्वतन सहित जाडो सुरु भएपछि हरेक वर्ष पुर्वी नेपालमा रक्तदान कार्यक्रमहरु कम हुने गरेका कारण विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव हुने गरेको तर्फ मध्यनजर गर्दै इटहरीमा आकस्मिक रक्तदान कार्यक्रमहरु हुन थालेका हुन ।
यसै बिच स्वास्थ्य संस्थाहरुमा रगतको अभाव बढ्दै गए पछि ईटहरीमा ७ वटा संस्थाहरुले संयुक्त आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ३० पिन्ट रगत संकलन भएको छ ।
लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको आयोजना तथा जिवन विज्ञान लगायतको ७ वटा सस्थाको सहआयोजनामा संयुक्त बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रक्त संचार केन्द्रमा जम्मा हुने रगतको ४० प्रतिशत हिस्सा इटहरी क्षेत्रले ओगटदै आएको छ । जाडो बढेसंगै प्रतिष्ठान लगायतका पुर्वका अस्पतालहरुमा समेत विरामीहरुका लागि आवश्यक पर्ने रगतको अभाव हुने गरेको छ । केही दिन पहिले प्रतिष्ठानमा रगतको अभाव भएपछि पुर्वमा सबै भन्दा बढी रक्तदान कार्यक्रम आयोजना गर्ने इटहरीलाई सम्झीएर आकस्मिक रक्तदान गर्न आग्रह गरिएपछि रक्तदान कार्यक्रमहरु इटहरीमा हुन थालेको रक्त संचार केन्द्र धरानका प्राविधिक सोमराज भण्डारीले जानकारी दिए । उनले केन्द्रमा जम्मा हुने रगतमा सबै भन्दा बढी इटहरी क्षेत्रबाट संकलन हुने समेत बताए ।
जाडो मौषम सुरु भएसंगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत रगतको अभाव हुने गरेको जानकारी पाएर आफुहरुले इटहरी क्षेत्रका अन्य संघसंस्थाहरुसंग समन्वय गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष थानेश्वर ढकालले जानकारी दिए । रक्त संचार केन्द्रमा रगत अभाव र रगत भण्डारणमा कमी हुन थालेको जानकारी पाएपछि जाडो मौसममा मात्र नभएर अन्य समयमा समेत इटहरीमा आकस्मिक रक्तदान कार्यक्रमहरु आयोजना हुने गरेका छन ।