धरान ः नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ को हालै एक विशेष प्रदर्शनी भएको छ ।
 नेपाली सेनाको मुख्यालयमा भएको प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले फिल्म हेरेका छन् । फिल्म हेरेपछि उनले आफू सन् १८१४ सालमा फर्किएको बताए । फिल्म राम्रो बनेको बताउँदै उनले ‘नालापानी’ ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए । ‘यो फिल्मले हामीलाई इतिहास बिर्सन दिँदैन । युद्ध जित्न हतियारले सहयोग गर्छ तर युद्ध जित्न बिना रणनीति हतियारले मात्र हुँदैन भन्ने सन्देश ‘नालापानी’ ले दिन खोजेको छ,’ थापाले भने ।
फिल्मले नेपाली कमजोर नभएको देखाउने उनको भनाई छ । ‘नालापानी’ ले नेपाली सेनामा वीररस थप्दै बताउँदै उनले अगाडि भने, ‘आगामी दिनमा पनि यो फिल्मको लागि नेपाली सेनाबाट अझै सहयोग हुनेछ ।’ विशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवं तीन सयभन्दा बढी नेपाली सेनाका अधिकारीहरु उपस्थित थिए ।
प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकसँगै इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.केसी., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग पटक(पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकहरुमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको निर्देशक रिमेश अधिकारीले बताए ।
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, महाविर विश्वकर्मा, बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलियासँगै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ । भिएफएक्सको अधिक प्रयोग भएको ‘नालापानी’ को टीजर सार्वजनिक भैसकेको छ ।
 रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको फिल्मको निर्माणमा बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्सले सहकार्य गरेका छन् । टीजर सार्वजनिक भए पनि प्रदर्शन मिति घोषणा नगरिएको ‘नालापानी’ को परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारीले गरेका छन् । ‘नालापानी’ को लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।
फिल्ममा द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन बिपिन मल्लको रहेको छ भने बसन्त खत्री मगरले भिएफएक्स गरेका छन् । फिल्ममा सह–निर्माता पुजना प्रधान र गणेश कार्की रहेका छन् । कार्यकारी निर्माता घनेन्द्र थपलिया रहेको यस फिल्मका एशोसियट निर्माता मनोज शाक्य हुन् । चाँडै फिल्मको प्रदर्शन मिति घोषणा गरिने निर्देशक अधिकारीले बताए ।