ताप्लेजुङ ःताप्लेजुङको हिमाली गाउँ ओलाङचुङगोलामा मात्र धुमधामले मनाईदै आएको फुटुक पर्व यो वर्ष समेत धुमधामका साथ मनाँईएको छ ।
परापुर्वदेखि यस गाउँमा मात्र मनाँईदै आएको पर्वमा यो वर्ष विदेशी पाहुना समेत पुगेका थिए । यो वर्षको फुटुक पर्व मनाँउन स्वदेशी तथा विदेशी गरि सयौँको संख्यामा ओलाङचुङगोलामा मानिसहरु जम्मा भएको स्थानीय टाँसी शेर्पाले बताए । कृष्ण पक्षको द्धित्तियादेखि सुरु हुने पर्व औँसीका दिन सकिने गर्छ ।
 पर्वमा नजिकैका बस्ति याङ्मा, घुन्सा लगायतका मानिस समेत अनिवार्य जम्मा हुने गरेका छन् । पर्वको अवधिभर हरेक दिन मध्य रातदेखि लामाहरुले पाठ गर्छन् भने देव नृत्य समेत देखाउने गरेका छन् । पछिल्ला ४ दिनलाई मूख्य पर्वका रुपमा मनाउने गरिन्छ । यस्तै आगोमा घ्यु र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाए पछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले बताए ।
  यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विस्वास गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठुला देवताको नृत्य देखाउछन् । यस्तै लामाले देवता र राक्षसको मखुण्डो लगाएर देवता र राक्षस विचको युद्ध अभिनय गरि अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गरेका छन् । लामाको नृत्य हेर्न साथै भगवानको आशिर्वाद लिनका लागि स्थानीयबासी साथै बाहिरबाट जाने मानिसहरुले गुम्बा नजिकै टेण्ड टाँगेर बस्छन् । गाउँलेले रकम जुटाएर मनाईदै आएको यो पर्व अहिले सम्म कुनै वर्ष रोकिएको छैन ।
फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ । पर्वका समयमा सिमावर्ती चीनको तीब्बतदेखि भारतको दार्जेलिङ, सिक्किम लगायतका ठाउँबाट समेत मानिसहरु जाने गरेका छन् । ओलाङ्चुङगोलामा ४ सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा रहेको छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई वर्षेनी विशेष रुपमा मनाईदै आएको बताईन्छ । चीन र नेपालको सिमानाका नजिकै रहेको ओलाङचुङगोला फत्ताङलुङ गाउँपालिका ७ मा पर्छ । यस गाउँमा ५६ घर रहेका छन् भने नजिकैको वस्ति याङ्मामा ११ घरपरिवार छन् । यो गाउँ सदरमुकामबाट सवारी साधनमा र हिँडेर गरि दुई दिनको समयमा पुगिन्छ ।