इलामः मंसीर १४ देखी शुरु हुने पाँच दिने प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ मा आउने पर्यटकका लागि होटल र लज पुग्दो भएको नगरपालिकाले जनाएको छ । महोत्सव सञ्चालनस्थलहरु वडा नम्बर १ देखि १२ सम्मका विभिन्न ठाउँहरुमा रहेका होटल, लज, होमस्टेको विवरण सङ्कलन गरिसकेको नगरपालिकाले यस्तो जनाएको हो ।
नगरपालिकाले उपलब्ध गराएको सूची अनुसार महोत्सव सञ्चालनस्थलहरुमा मात्र जम्मा १५९ होटल लज तथा होमस्टे रहेका छन् । ती होटल र होमस्टेमा रहेका ८२२ वटा कोठा (लज)हरुमा तीन हजार आठसय ७४ जना मानिसलाई बास राख्न सकिने नगरपालिकाको भनाई छ ।
महोत्सवमा वडा नम्बर १ को गोर्खे, २ को पशुपतिनगर, ३ को तीनखुट्टे, ४ को श्रीअन्तु, ५ को समाल्बुङ, ६, ७ र ८ मा पर्ने हर्कटे, कन्याम र पाल्टाँगे क्षेत्र, ९ र १० मा पर्ने बरबोटे, सुन्दरपानी र फिक्कल तथा ११ र १२ मा पर्ने करफोक, पञ्चकन्या र आइतबारे क्षेत्रमा रहेका ती होटल, लज तथा होमस्टे प्रयोगका लागि तयारी गरिएको हो । वडा नम्बर १ को गोर्खे, मानेभञ्ज्याङ, थुम्के र मंगलबारेमा १२ वटा होटल रहेका छन् । ती होटलमा रहेका ७७ वटा कोठामा २०० जना पर्यटक अँटाउन सकिने सूचीमा उल्लेख छ ।
वडा नम्बर २ को पशुपतिनगर बजारमा पनि १२ वटा कोटलमा रहेका ८९ वटा कोठामा ४३३ जना पर्यटक अँटाउन सकिने उल्लेख छ । वडा नम्बर ३ को तीनखुट्टेमा ७ वटा होटल लजका ३६ कोठामा ३०० पर्यटक अँटाइने बताइएको छ ।
यता वडा नम्बर ४ को श्रीअन्तु र ५ को समाल्बुङमा पनि होमस्टे र होटल लज गरेर ५६ वटा रहेका छन् । ती होमस्टे र होटलमा टेण्ट तथा लज गरेर २८५ वटा कोठा रहेका छन् । त्यहाँ एकहजार तीनसय जना पर्यटकलाई अँटाउन सकिने ब्यवस्थापन भएको बताइएको छ । यी होटलहरु धेरैजसो श्रीअन्तुको तकपत, छिरुवा, उत्तरे, भञ्ज्याङ, अन्तुडाँडा र शान्तिबजार तथा आसपासमा रहेका छन् ।
त्यस्तै वडा नम्बर ६ र ७ मा पर्ने कन्याम र हर्कटे बजारमा रहेका १२ वटा होटलमा ५३ कोठा रहेको र त्यहाँ २५४ जना मानिसलाई बास बसाउन सकिने जनाइएको छ । वडा नम्बर ८ को पाल्टाँगे तथा शान्तिचोकमा रहेका १३ वटा होटलका ९५ कोठामा ४५९ जना तथा वडा नम्बर ९ को सुन्दरपानीका तीन होटलमा भएका ११ कोठामा २४ जना अँटाइने जनाइएको छ ।
त्यसैगरि वडा नम्बर १० को फिक्कल बजारमा २९ वटा होटल लजहरु रहेका छन् । त्यहाँ भएका १७० वटा कोठामा ८६५ जनालाई बासको ब्यवस्था गर्न सकिन्छ । वडा नम्बर ११ र १२ मा रहेका करफोकमा लज र टेण्टसहितका दुईवटा होटलमा ४५ जनालाई ब्यवस्थापन हुने जनाइएको छ ।
यी होटलहरुमा मेनु राखिने र त्यही अनुसार पर्यटकले सेवाशुल्क तिर्नुपर्ने नगरपालिकाले जनाएको छ । कुनै असुविधा भए वा होटल तथा लजहरुप्रति गुनासो भए पर्यटकले तत्कालै नगरपालिकामा रहेको सूचना केन्द्रमा सम्पर्क गरेर जानकारी गराउन सकिने र नगरपालिकाले त्यसबारे छानविन र कारबाही सम्म गर्नसक्ने जनाइएको छ ।
पाँचलाख पर्यटकको आवतजावत हुने
प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ मा पाँच लाख पर्यटकको आवतजावत हुने आशा गरिएको नगरपालिकाले जनाएको छ । महोत्सव मूल आयोजक समितिकी संयोजकसमेत रहेकी नगर उपप्रमुख दुर्गादेवी भट्टराईले भनिन, ‘महोत्सव अवधिमा सूर्योदय नगरपालिकामा पाँच लाख जना पर्यटक आवतजावत गर्ने अपेक्षा गरेका छौँ ।’
महोत्सवको तयारीका विषयमा नगर कार्यपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख भट्टराईले महोत्सवमा आउने पर्यटकका लागि सहज आवतजावत र खान बस्नको लागि उचित ब्यवस्थापनमा ध्यान दिइएको बताइन् । उनले भनिन्, ‘पर्यटकलाई राख्न होटल कुन स्थानमा कतिवटा छन् । त्यहाँ कति पर्यटक राख्न सकिन्छ । होटल सञ्चालकको सम्पर्क नम्बरसमेत सङ्कलन गरि सूचना केन्द्रमार्पmत पर्यटकलाई जानकारी दिने ब्यवस्था गरिएको छ ।’
बास बस्ने गरि आएका पर्यटकका लागि महोत्सव आयोजना स्थल(श्रीअन्तु, समाल्बुङ, कन्याम, फिक्कल, करफोक पञ्चकन्या, गोर्खे, पशुपतिनगर)मध्ये कुनै ठाउँमा बास बस्ने ठाउँ छ या छैन भन्ने जानकारी लिएर खाली भएको ठाउँमा लानेसम्म ब्यवस्थापन गरिने उनले बताइन् । त्यसका लागि पर्यटकले समेत निःशुल्क फोन गरि जानकारी लिनसक्ने गरि नगरपालिकाले टोलफ्रि नम्बर (फोन)को ब्यवस्था गरेको र त्यो बाहेक ०२७५४०५८३ नम्बरको टेलिफोन पनि २४ घण्टा अपडेट हुनेगरि सूचना केन्द्रमा ब्यवस्थापन गरिएको उपप्रमुख भट्टराईको भनाई थियो ।
महोत्सवमा आउने पर्यटकका लागि असहज नहोस् भनेर नगरपालिकाले सबै होटलमा दररेट(मेनु) राख्नुपर्ने ब्यवस्था गरेको छ । ‘हामीले सबै होटल र होमस्टेलाई आप्mनो मेनु पर्यटकले देख्ने ठाउँमा राख्न भनेका छौँ, मेनु नहुनेले लेखेर भएपनि होटलको दररेट देखिने ठाउँमा टाल्ने ब्यवस्था गरिएको छ’, पत्रकार सम्मेलनमा नगर प्रमुख रणबहादुर राईले भने, ‘त्यतिमात्र होइन, गाडिको भाडादर निर्धारण गरिएको छ । सो भाडादरअनुसार भाडा तिरेपछि पर्यटकले टिकट पाउनुपर्छ भनेर सबै सवारीका मजदुरलाई अभिमुखीकरण गरिएको छ ।’
महोत्सवमा आउने नेपाली र अङ्ग्रेजीसमेत नबुभ्mने बिदेशी पर्यटक(बिशेष गरि बङ्गाली पर्यटक)का लागि ठाउँठाउँमा होर्डिङबोर्ड राखेर जानकारीमूलक सूचना उपलब्ध गराउने ब्यवस्थापन गरिएको पनि प्रमुख राईको भनाई थियो । यो महोत्सवमा नेपालका विभिन्न भाग तथा भारत दार्जि्लिङसहित उत्तरबङ्गाल, सिक्किम, भुटान, बङ्गलादेश र अन्य मुलुकका पर्यटक पनि आउने अपेक्षा रहेको राईले बताए ।
नगरपालिकाले महोत्सवस्थलहरुमा पुग्नका लागि यातायात भाडादर पनि निर्धारण गरेको छ भने सूर्योदय नगरपालिकाका महोत्सव सञ्चालन गरिने विभिन्न स्थानहरुमा रहेका होटल तथा लजको कोठा सङ्ख्या, मान्छे राख्न सक्ने क्षमता, सम्पर्क नम्बर, सम्पर्क ब्यक्तिको नाम, ठेगानासहितको विवरण सङ्कलन गरि सूचना केन्द्रमा राखेको छ ।