ताप्लेजुङ ः तमोर मेवा जलविद्युत आयोजना निर्माणका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी अन्तिम तयारीमा जुटेको छ । १२८ मेगावाट क्षमताको आयोजना प्रर्वद्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि विद्युत विकास विभागको पछिल्लो निर्देशन अनुसार थप अध्ययनको कार्य गरिरहेको छ । गत वर्ष नै विद्युत विकास विभागलाई उत्पादन अनुमति पत्र प्राप्त गर्नका लागि बुझाएका अध्ययन प्रतिवेदन र तथ्याङ्क पुष्टिका लागि अन्तिम तयारी स्वरुप थप अध्ययनमा जुटेको प्रर्वद्धक कम्पनीले जनाएको छ ।
‘विद्युत उत्पादन अनुमति पत्रका लागि ४० लाख रुपैँया दस्तुर सहित सम्पुर्ण अध्ययन प्रतिवेदन सहित विद्युत विकास विभागमा दरखास्त दिईएकोमा विभागद्धारा १०० मेगावाट माथीको आयोजनका लागि तोकिएको नयाँ मापदण्ड २०१८ अनुसार थप अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन भएको छ, सोहि अनुसार अहिले भौगर्भिक अध्ययनका लागि आवस्यक काम गरिरहेकाछौँ’–प्रर्वद्धक कम्पनीका प्रवन्धक भानेन्द्रकुमार लिम्बूले बताए । उनका अनुसार गत वर्षको पुस ५ गते उत्पादन अनुमति पत्रका लागि दस्तुर सहित दरखास्त पेश गरिएको थियो । विभागको निर्देशन अनुसार कार्य सम्पादन गर्ने क्रममा अहिले आयोजना क्षेत्रको भौगर्भिक अध्ययनका लागि ड्रिलिङको काम भईरहेको छ । ईस्ट मेनेजमेन्ट ईन्जिनियरिङ सर्भिस प्रालिद्धारा ३ वटा मेसिनको सहायतामा २० वटा ड्रिल होल गर्ने कार्य भईरहेको हो । यि काम आगामी फागुन सम्ममा सम्पन्न गरिसक्ने र अरु पक्रियामा अघि बढ्ने प्रर्वद्धक कम्पनीको तयारी छ ।
अनुमति पत्र लिने प्रक्रियमा नै लामो समय वितेकाले निर्माण सुरु गर्न ढिलाई हुँदै आएको प्रवन्धक लिम्बूको भनाई छ । अर्को वर्षको सुरुवातमा नै अनुमति पत्र प्राप्त हुनेमा ढुक्क रहेको बताउँदै लिम्बूले निर्धारित समयमा आयोजना सम्पन्न गर्ने दाबी गरे । अनुमति पत्र प्राप्त गरेको तीन वर्षमा नै आयोजना सक्ने गरि अन्य व्यवस्थापनको काममा जुटेको उनको भनाई छ ।
आयोजना सम्पन्न गर्न कुल २६ अर्व १२ करोड रुपैँया लाग्ने बताईएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ, आठराई त्रिवेणी गाउँपालिकाको चाँगे, हाम्पाङ, फुलबारी, मिक्वाखोला गाउँपालिकाको लिवाङ, खोक्लिङ र मेरिङदेनको लिङ्तेप, खाम्लुङ, सान्थाक्रा आयोजनाको प्रभावित क्षेत्र हुन् । फुङलिङ भने मुख्य प्रभावित क्षेत्रमा पर्छ । मेवाखोला र तमोर नदीको पानीलाई एकिकृत गरि झण्डै ७ किलोमिटर दुरीको सुरुङ मार्फत विद्युत गृह सम्म पु¥याउने योजना रहेको छ । फुङलिङ नगरपालिका ३ स्थित गुहेँलीमा अन्डरग्राउण्ड विद्युतगृह रहने छ । उत्पादित विद्युत हाङ्पाङ सब स्टेशन हुँदै कोशी करिडोर प्रशारण लाईन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ ।