इलाम ः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सम्बृद्ध नेपालको चाहना हामी सबैको भएकाले त्यसका लागि सहकार्यसहित नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी पनि रहेको बताएका छन् । शनिवार सूर्योदय नगरपालिका वडा नम्बर १२ को करफोकमा आयोजित प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री राईले अहिले राज्यको शक्ति तीन तहमा बाँडेर नयाँ नेपाल निर्माण गर्ने ऐतिहासिक चरणमा रहेको बताएका हुन् ।
मुख्यमन्त्री राईले सूर्योदय नगर पर्यटन महोत्सवलाई अन्य सामान्य महोत्सवसँग नदाँज्न आग्रह समेत गरे । उनले भने, ‘अन्य महोत्सव भन्दा यो महोत्सव भिन्न हुनेछ ।’ उनले केही दिनका लागि फाइदा पुगोस् भनेर मात्र यो महोत्सव आयोजना गरिएको होइन भन्दै नगरपालिकाको विकास गर्ने लक्ष्यसहित योजनाबद्ध शैलीमा यो महोत्सव आयोजना गरिएको बताएका छन् ।
राईले महोत्सवले सूर्योदय नगरबासीसहित इलाम जिल्ला र प्रदेश नम्बर १ को पर्यटन विकासमा नै सहयोग पु¥याउन सक्ने पनि बताउँदै यो महोत्सव सफल र उपलब्धिमूलक बनाउन सबैको दायित्व भएको बताए ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाषद्हरु धिरेन्द्र शर्मा, राम राना, काजीमान कागते र खिनु लोङ्वा, जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली, चुलाचुली गाउँपालिका प्रमुख प्रदिप राई, रोङ गाउँपालिका प्रमुख शम्शेर राई, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधीहरु, सुरक्षा निकाय र अन्य सरकारी अड्डाका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।