धरानः धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । उनले नेकपाका प्रकाश राईलाई २७९५ मत अन्तरले पराजित गरेका हुन । विजयी भएका राईले २६७०९ मत प्राप्त गरे भने नेकपाका उमेदवारले २३९१४ मत ल्याए ।
चुनावको दिनसम्म पनि नेकपाले थोरै मतले भएपनि चुनाव जित्ने धेरैले लख काटेका थिए । तर, झण्डै ६० प्रतिशत मत खसेको धरानमा नेकपालाई पराजित गर्दै कांग्रेस विजयी हुन पुग्यो ।
 सुनसरी कांग्रेसका सभापति राजीव कोइरालका अनुसार अघिल्ला धेरै चुनावमा पराजित भएको कांग्रेसले ‘‘हारको इख’’लाई यो विजजमा रुपान्तरण गरेको हो । यसका लागि करिब साढे तीन दशकसम्म कुनुप¥यो । २०४८ पछि धरानमा कांग्रेस संधै हार्दै आएको थियो । यो पहिलो ऐतिहासिक जित निकाल्न र नेकपाको लालकिल्ला भत्काउन झन्डै साढे तीन दशक लाग्यो । र, निकै मेहनत पनि गर्नु प¥यो । कोइरालले भने,‘‘धरानमा पार्टी एक ढिक्का हुँदाको परिणाम आएको हो । जुन सम्भव थियो । धरानका जनताले परिवर्तनका लागि अभुतपूर्वरुपमा गरेको सहयोगले कांगे्रसलाई साथ दियो ।’’ उप–निर्वाचनलाई कांग्रेसले पार्टीको प्रतिष्ठा बनाएर मेहनत गर्दा विजयी भएको आफूहरुको निश्कर्ष रहेको कोइरालाले सुनाए ।
 चुनावी सरगर्मी तात्तिएसंगै पार्टी सभापति शेरबहादुर देउवा दुई पटक धरान आए । चुनावी सभामा सहभागी भए । घरदैलो र कोणसभाबारे जानकारी लिए । केन्द्रले गर्नुपर्ने सहयोगको फहेरिस्त लिएर काठमाडौ फर्किए र सोहीअनुरुप पार्टीपंक्तिलाई परिचालित हुन निर्देशन दिए, सहयोग गरे । जिल्ला सभापति कोइरालाका अनुसार धरानमा कांग्रेसले एकल उमेदवार तोक्यो । पार्टीले ‘‘यो वा त्यो नेताको मान्छे भन्ने पार्टीभित्रको स्थायी समस्या’’लाई धरानमा उजागर हुनै दिएन । कोइराला भन्छन्,‘‘वडादेखि केन्द्रसम्मको चासो, सहयोग र हौसला अनि जनताको साथसमर्थनले नै धरानमा परिणाम उल्टिएर हाम्रो पक्षमा आएको हो ।’’ उनले यसलाई ‘बरकरार’ राख्न अझै धेरै काम गर्न बाँकी रहेको सुनाए ।
प्रमुखमा विजयी तिलक राईले सेवक भएर काम गर्न जनाएको प्रतिबद्धता र धराने जनताले खोजेको परिवर्तनको संकेत नै अहिले आफ्नो विजयले देखाएको बताए । भने,‘‘म हिजो पनि श्रमिक मजदुर वर्गको लागि काम गरेर आएको मान्छे हुँ । अब उनीहरुको दुःखदर्दलाई बुझदै समग्र धरानबासीको विकासको चाहनालाई पूरा गर्ने प्रयास गर्नेछु ।’’ राईले आफ्नो विजयको लागि धरानबासीले देखाएको ऐतिहासिक सहयोगका लागि धन्यवाद दिएका छन ।
 धरानमा २०४८ यता स्थानीय र संसदीय निर्वाचनहरुमा समेत तत्कालीन एमाले र त्यसपछि नेकपाले जितेको इतिहास छ । राई भन्छन्,‘‘मलाई स्थानीयदेखि पार्टीको केन्द्र र जनताको ठूलो सहयोग भयो । यही नै मेरो विजयको कारण हो ।’’ उनले उपमहानगरमा अव्यवहारिक कर नलगाउने, अपूरा योजना पूरा गर्ने र जनभावनाको कदर गर्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताए ।
 नेकपाका उमेदवार प्रकाश राईले चुनाव हारजितकै लागि हुने र परिणामलाई आफूले स्विकार गरेको बताउँदै भने,‘‘चुनाव जनताबाट आवधिक हुने प्रक्रिया हो ।’’

यसकारण हार्यो नेकपा

एमालेले जितेको ठाउँ भएपनि माओवादीसंग मिसिएर पनि सिंगो नेकपा पराजित हुनुमा धेरै कारण छन् । यसबारे पार्टीभित्र पनि नेकपाभित्र विश्लेषण शुरु भएको छ । माओवादी मिसिएर बनेको पार्टी किन हा¥यो ? आमवृत्तमा यही छलफल भईरहेको छ ।
 नेकपाको असक्षम जिल्ला नेतृत्व, कार्यकर्ता परिचालनमा कमजोरी, नेतृत्वमा रहँदा पनि धरान उपमहानगरमा काम गर्न नसकेको जनताको बुझाइ, अप्रत्यासित करको मार, सुकुम्बासीका समस्यालाई नजरअन्दाज जस्ता कारणले नेकपाको पराजको कारण बन्यो । भूमिकाविहीन भएका प्रदेश सांसदको गुनासोबीच विवाद चिर्न नसक्नु नेकपामा कमजोरी देखिएको एक प्रदेश सांसदले बताइन । उनले भनिन्,‘‘एक्लै हुँदा त जितेको ठाउँ अब मिसिएर झन् ठूलो दल हुँदा जितिहालिन्छ नि भन्ने दम्भ र त्यस विपरीत धेरै वर्षदेखि हारेको कांग्रेसको जित्नै पर्ने इखले नै चुनावको परिणाम उल्टिएको हो ।’’ उनले पार्टी र समग्र नेतृत्व धरानमा उपचुनावप्रति गम्भीर नबन्दा हार भएको दाबी गरिन ।
  नेकपाले कतिपय समर्थित मतदातालाई मतदानस्थलसम्म ल्याउने काम नगर्नु तर त्यसको विपरीत कांग्रेसले मतदातालाई नै बढी महत्व दिनु, शहरी क्षेत्रबाट कम मतदान भएको अवस्थामा बढी मत भएका सुकुम्बासी क्षेत्रमा कांग्रेसले पकड बलियो बनाउनुले पनि ‘‘सजिलै जितिन्छ’’ भन्ने अनुमानबाट नेकपा चिप्लियो । नेकपाभित्रको एक गुटले अर्कोलाई सघाएन तर कांग्रेसले गुटलाई पार्टीभित्रको प्रतिस्पर्धाको लागि साँचेर चुनावमा भने मिलेर सक्रिय भयो ।