इलाम ः आत्मनन्द लिङदेनको आज हुने जन्मोत्सवको तयारी भव्य रुपमा भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६६औँ जन्मोत्सव मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समितिको आयोजनामा हुने कार्यक्रममा खेलकुद कार्यक्रम, गालीश्राप वहन्ती, पुस्तक विमोचन, जातीय सांस्कृतिक कार्यक्रममा साथ भव्य तयारी भएको हो ।
जन्मोत्सवका अवसरमा गत बुधबारदेखि आत्मानन्द कप १२ औँ संस्करण प्रतियोगिता १६ गते साक्मुरा वदेम्मा (गालीश्राप वहन्ती), १७ गते विश्व शान्ति मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङसेमी सेवा (महाअस्ट हवन) र आत्मानन्द कपको फाइनल खेल सम्पन्नभइसकेका छन । आज धर्मगुरु लिङदेनको ६६औँ शुभजन्मोत्सव उद्घाटन, आत्मानन्द कपको विजेतालाई पुरस्कार वितरण, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सांस्कृतिक कार्यक्रमको तय गरिएको छ ।
त्यस्तै १९ गते धर्मगुरु लिङदेनबाट आशीर्वचन, मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन, सहित्यिक तथा सांस्कृतिक कार्यक्रम तय भएको छ । यसैगरी २० गते माङगेन्ना चामल वितरणसँगै बिदाइ गरिने कार्यक्रम रहेको प्रचारप्रसार उपसमिति संयोजक सुमन लावतीले जानकारी दिए ।
माङसेबुङ गाउँपालिका–२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरूले मान्ने गरेका छन् ।
विगतका वर्षझैँ यसवर्ष पनि माङसेबुङ गाउँपालिका–५ माङसेबुङमा विविध कार्यक्रमसहित लिङदेनको जन्मोत्सव भव्य रूपमा मनाउने तयारी छ ।
किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा हरेक वर्ष राज्यका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती हुने गर्दछ ।
जन्मोत्सवमा यसअघि पूर्वराजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, सुशील कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन् ।
आज सार्वजनिक विदा
किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६६ औं जन्मोत्सवको दिन मंसिर १८ गते माङसेबुङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँ कार्य पालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो निर्णयलाई किरात धर्मावलम्बीहरूले ऐतिहासिक निर्णय भएको भन्दै स्वागत गरेका छन् ।
धूम्रपान मध्यपान निशेधित क्षेत्र
माङसेबुङ क्षेत्र धूमपान मद्यपान निषेधित क्षेत्र पनि हो । माङसेबुङ गाउँपालिकाको वडा–५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमांस, धूमपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लील कार्य निषेधित क्षेत्र घोषणा भएको छ ।
को हुन आत्मानन्द ?
विस २०११ मंसिर १८ गते शुक्रवारको दिन जन्मिएका मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङको विस २०३६ सालबाट उनको जन्मोत्सवलाई किरात धर्मावलम्बिहरु र किरात धर्म प्रती गहिरो आस्था राख्ने संसारभरका श्रदालु भक्तजनहरुले मानविय गरिमाको रूपमा नुमाङ्गेन्नालाई हर्सोल्लासका साथ मनाउदै आएका छन । जन्मोत्सव लाई विसेस बनाउनको लागि माङ्सेवासावाहरुले माङ्गेन्ना मुन्धुम वाचन र विभिन्न जातीय झाकी नृत्यहरु समेत प्रस्तुत हुने गर्दछ । इलाम जिल्ला साविक इभाङ गाबिस वडा न. ५ चुक्चिनाम्बामा बुवा पुण्यप्रसाद लिङ्देन आमा श्यामजिरी चेम्जोङ्को कोख बाट विस २०११ मंसिर १८ गते शुक्रवारको दिन जन्मिएका मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द सेइङलाई महागुरु फाल्गुनन्दको पुन ः अवतारको रुपमा किराँत धर्मवालम्बिहरुले मान्दै आइरहेका छन । किराँतिहरु एउटै सुत्र र धर्ममा बाधिनु पर्छ भनेर भन्दै आएका छन । सानोमा उनलाई बालागुरु समेत भनिन्थो । आत्मा परमात्मा भुत बर्तमान भबिश्यको बारेमा जान्ने भन्ने शाब्दिक अर्थमा शब्दिगुरु बद्रीनन्द तुम्बापो द्वारा आत्मानन्द लिङ्देन नाम राखिएको पाइन्छ । महागुरुको पुन ः अवतारको रुपमा उनलाई मान्दै आएकोले अवतारी ब्याक्ती भन्ने शाब्दिक अर्थमा अङ्सिमाङ भनेर भन्न थालिएको हो ।
आत्मानन्दको जन्मोत्सवमा उपप्रधानमन्त्री पोखरेल आउने
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल बुधबार (मंसिर १८) इलामको माङसेबुङ आउने भएका छन । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ को ६६ औं जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन उपप्रधानमन्त्री पोखरेल माङसेबुङ आउन लागेका हुन् ।
हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरूको उपस्थिति हुने जन्मोत्सवमा यस वर्ष भने पोखरेल आउने निश्चित भएको प्रचारप्रसार समिति महासचिव काकीराम लावतील जानकारी दिए ।
विगतका वर्षझैँ यसवर्ष पनि माङसेबुङ गाउँपालिका–५ माङसेबुङमा विविध कार्यक्रमसहित लिङदेनको जन्मोत्सव भव्य रूपमा मनाउने तयारी छ ।