धरानः उप निर्वाचन मार्फत धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित तिलक राईले बुधबार पदभार ग्रहण गर्दै नगरवासीको भावनाअनुसार हाल लागु गरिएको करका दररेटलाई पुनरावलोकन गरेर कार्यान्वयन गरिने बताएका छन् । उनले निर्वाचनका समयमा जनताका घर घरमा गएर नगरमा लागु भएको कर दररेट बैज्ञानिक नभएकाले आफु विजयी भए परिमार्जन गर्ने बताएका थिए ।
बुधबार पदभार ग्रहणपछि बोल्दै उनले यसअघि धरान उपमहानगरपालिकाबाट निर्णय गरिएको करलाई व्यवहारिक र वैज्ञानिक बनाउनका लागि सहमति भएको र त्यो सदर भएको उनले बताए ।
‘करलाई व्यवहारिक र वैज्ञानिक बनाउन सदर गरेको र सहयात्री राजनीतिक दलले समेत विश्वास दिनुभएको छ, यो करलाई पुनरावलोकन गर्नका लागि उपमहानगरपालिकालाई प्रोत्साहन गरेको भन्दै मेयर राईले सहयात्री पार्टी नेकपालाई धन्यवाद समेत दिएका छन् ।
यो जीत सबै धरान नगरबासीको जीत भएको हुनाले सबै टिम एक भएर काम गर्ने उनको भनाइ थियो । ‘कार्यवाहक प्रमुखको कार्य अनुभवलाई लिएर अघि बढ्नेछु’, उनले भने, ‘कहीँ कुनै कर्मचारी वा अन्य कसैलाई खुम्च्याउने काम आफुबाट हनुने बताए । उनले आफु छलफल र सहकार्यबाट नगरविकासमा अघि बढ्ने बताए । उनले कसैलाई निधेष गरेर आफु अगाडी बढ्ने योजनामा नरहेको स्पष्ट पारे । उनले आफु व्यक्ति र पार्टी बिषेश नभई नगरवासीको हितमा लागि पर्ने प्रतिबद्धता जनाए ।
उनले पदभार ग्रहणअघि गणेशमानचोकस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि उनी धरान–१९ स्थित हरियाली सामुदायिक वनस्थित स्व. तारा सुब्बाको शालिकमा माल्यार्पण गरेर सिधै नगरपालिका प्रवेश गरेका थिए ।
उपमहानगरपालिका प्रवेशअघि गेटमा सफाइ कर्मचारीले पहिलो स्वागत गरेका थिए । त्यसपछि अन्य कर्मचारीले स्वागत गरेका थिए । उपमहानगरपालिकाका प्रवेशद्धारा उप मेयर मन्जु भण्डारी , प्रशासकीय अधिकृत विनोद पोख्रेल लगायत कर्मचारीहरुले मेयर राईको स्वागत गरेका थिए ।