विराटनगरः प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पत्रकार आचारसंहितालाई राष्ट्रिय हित र दिगो शान्तिमा जोड्नुपर्ने बताएका छन्। प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ द्वारा बुधबार विराटनगरमा संयुक्तरूपमा आयोजित ‘पत्रकार आचासंहिता जागरण अभियान–२०७६’ प्रदेशस्तरीय दुईदिने गोष्ठीमा उनले आचारसंहितालाई व्यवहारमा उतारी सञ्चारकर्मीले गुणस्तरीय, समतामूलक र समावेशी हुनुपर्नेमा जोड दिए।
प्रमुख अधिकारीले पत्रकारले दिगो औद्योगिकरण र नवीन खोजमा कलम चलाउन जोड दिँदै संविधानको सफल कार्यान्वयनको समाचार सम्प्रेषणबाट विश्व सञ्चार जगत्को ध्यानाकर्षण उल्लेख गरे । उनले पत्रकारले उचित र समयोजित आलोचना पद्धतिको विकास गर्नुपर्नेमा जोड दिँदै जिम्मेवारी, जवाफदेहिता र स्वाभिमानसाथ आगाडि बढ्न आग्रह गरे।
प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले पत्रकारले स्वनियम पालना गर्दै मर्यादित भएर सही र तथ्यका आधारमा नागरिकलाई समाचार पस्किनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्योगीका विज्ञापनले ठूला मिडियाहाउसले जनताको पक्षमा समाचार सम्प्रेषण गर्न छाडेको आरोप लगाउँदै पत्रकारले गल्ती गरेमा कालोसूचीमा राखिने व्यवस्था आचारसंहितामा रहेको जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ अध्यक्ष विक्रम लुइँटेलले आचारसंहिताबारे अन्य क्षेत्रमा समेत छलफलको कार्यक्रम अगाडि बढाउने बताउँदै आचारसंहिताप्रति प्रतिबद्धता जनाई व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिए । प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाँइ, ब्रोडकास्टिङ एशोसिएशनका अध्यक्ष चन्द्र न्यौपाने र पत्रकार महासङ्घ प्रदेश महासचिव विवेक गौतमले पत्रकारले के गर्न हुने, के गर्न नहुने सम्बन्धमा आचारसंहितामा उल्लेख भएको जानकारी दिए ।
पत्रकारलाई आचारसंहिता पालनप्रति जागरण गराउनु, प्रदेशमा कार्यरत पत्रकारको अवस्था र आचारसंहितमा भएका कमी–कमजोरी सुधारका लागि आवश्यक सुझाव सङ्कलन गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ । प्रदेश नं १ का १४ जिल्ला ४० सञ्चारकर्मीको जागरण अभियानमा सहभागिता रहेको छ । प्रदेश नं १ मा ११४ रेडियो, ११७ पत्रपत्रिका, पाँच टेलिभिजन, १५० अनलाइन र २ हजार सञ्चारकर्मी कार्यरत रहेका छन् ।